२५ साउन, काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियशनले इन्धन ढुवानीका क्रममा हुने प्राविधिक नोक्सानीको क्षतिपूर्ति बढाउन माग गरेको छ ।
बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा एशोसियशनका अध्यक्ष लीलेन्द्रप्रसाद प्रधानले व्यवसायीले अघिसारेका समस्या समाधान गर्न आयल निगम सञ्चालक समिति उदासीन रहेको बताउँदै आफूहरुको माग सुनुवाइ नभए आगामी साउन ३१ गतेदेखि पेट्रोलियम पदार्थको कारोबार बन्द गर्ने चेतावनी दिए ।
अध्यक्ष प्रधानका अनुसार बिहीवारदेखि पेट्रोलियम पदार्थ डिपोबाट खरीद नगर्ने भएको छ । ‘निगमले आफूहरुले राखेका माग असार मसान्तभित्र समाधान गर्ने प्रतिबद्धता ब्यक्त गरेपनि अहिलेसम्म पूरा गरेको छैन”–अध्यक्ष प्रधानले भने । व्यवसायीले चार हजार लिटर पेट्रोल ढुवानी गर्दा करीब ८५ लिटर प्राविधिक नोक्सानी हुने र त्यस्तो नोक्सानीको भरपाई निगमले गर्नुपर्ने बताउँदै आएका छन् ।
हाल निगमले चार हजार लिटरमा ३५ लिटर क्षतिपूर्ति स्वरुप उपलब्ध गराउँदै आएको छ । रासस