२०८३ साउन ९ शनिबार

धुलिखेलको फस्कोटमा पर्यटनको पूर्वाधार बन्दै

ई आर्थिक    आइतबार, साउन ८ २०७४
6.7K
Shares
धुलिखेलको फस्कोटमा पर्यटनको पूर्वाधार बन्दै

८ साउन, बनेपा । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१२ का खडकराज पन्तले पर्यटनलाई कृषिसँग जोड्ने प्रयास थाल्नुभएको छ ।

पर्यटन व्यवसायमा २० वर्ष लामो अनुभव हासिल गर्नुभएका उहाँ धुलिखेलस्थित फस्कोटको थुम्का डाँडालाई छनोट गरेर त्यहाँ पर्यटन प्रवद्र्धन गर्न पूर्वाधार विकासमा लागिरहनु भएको छ ।

उहाँले भन्नुभयो – “मुस्ताङमा खेर गएको स्याउलाई नयाँ प्रविधिमा रुपान्तरण गरे झै यहाँबाट उत्पादन भएको आलुको चिप्स वा गाजरको हलुवा बनाएर पर्यटकको आर्कषण वढाउन सकिन्छ ।”

पर्यटन क्षेत्रमा रहेर गरेको पदयात्राको अनुभवलाई पर्यटन क्षेत्रको विकासमा लगाउन उहाँल उद्यत हुनुहुन्छ । उहाँले त्यस क्षेत्रमा फूल फुल्ने र पानी कम आवश्यक पर्ने विभिन्न प्रजातिको बिरुवा रोपेर हराभरा बनाउनुभएको छ ।

“मैले पर्यटनमार्फत समाज रुपान्तरणको पक्षमा काम गर्न कोशिश गरेको छु,” उहाँले भन्नुभयो ।
पन्तले सामुदायिक होम स्टेका लागि करिव रु ६ लाखको लगानीमा त्यस क्षेत्रमा २ वटा घर बनाउन लागेको र सात रोपनी जग्गामा आकर्षक पर्यटक गन्तब्य बनाउने योजना रहेको जानकारी दिनुभयो ।

तीन वर्षदेखि निरन्तर पर्यटन पूर्वाधारको विकासमा समय खर्चनुभएका पन्तले झण्डै रु ३ लाखको व्यक्तिगत लगानीमै खानेपानीको समस्या हल गरेको बताउनुभयो । तामाङ समुदायको बाहुल्यता रहेको उक्त क्षेत्रबाट जाडो मौसममा अन्नपूर्ण, मनास्लु, गणेश, जुगल, लाङटाङ हिमशृङखलाको समेत अवलोकन गर्न पाइन्छ ।

सदरमुकाम धुलिखेलबाट दक्षिणपूर्व ६ किलोमिटर दूरीमा रहेको उक्त क्षेत्रमा जान बाटोको समस्या देखिएको छ । धुलिखेललाई पर्यटकीय गन्तब्यको रुपमा लिइएकाले यहाँ आन्तरिक र बाहय पर्यटकको चहलपहल बढी देखिन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij