२०८३ साउन १२ मंगलबार

माडीमा पाँच दिनदेखि विद्युत् सेवा बन्द

ई आर्थिक    आइतबार, साउन ८ २०७४
4.4K
Shares
माडीमा पाँच दिनदेखि विद्युत् सेवा बन्द

८ साउन, रत्ननगर (चितवन) । बिग्रिएर बनेको महिना दिन नपुग्दै जमिनमुनि गाडिएको बिजुलीको तारमा समस्या हुँदा दक्षिण चितवनको माडी पाँच दिनदेखि अन्धकार भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जभित्र जमिनमुनि गाडिएको तारमा समस्या हुँदा साउन ३ गतेबाट यहाँ विद्युत् सेवा अवरुद्ध हुन पुगेको हो । आजसम्म निर्माण कम्पनीले सो समस्याको विषयमा कुनै चासो नदिएको स्थानीयवासीले बताएका छन् ।

जमिनमुनि गाडिएको तार सात स्थानमा गाँसिएको छ । सोमध्ये दुई स्थानमा डढेको जस्तो कालो लागेको पाइएको भए पनि परियोजना हस्तान्तरण नहुँदा आफूहरुले हेर्न नपाएको नेपाल विद्युत् प्राधिकरण, भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेल बताउनुहुन्छ ।

“स्थानीय उपभोक्ताहरु हामीलाई गाली गरिरहेका छन्, समस्याबारे कुरा गर्दा हामी आफैँ आएर हेर्छाैं भनेका छन्, पौडेलले भन्नुभयो, हस्तान्तरण नभएको परियोजना हामीले सिधै गएर हेर्न मिल्दैन ।”

परियोजनाले समस्या हेर्ने जिम्मा ठेकेदारलाई दिएकाले ठेकेदारको लापर्बाहीका कारण समस्या बेलैमा पहिचान हुन नसकेको आरोप स्थानीयवासीले लगाएका छन् ।

यसअघि चितवन राष्ट्रिय निकुञ्जस्थित जमिनमुनि गाडिएको विद्युत्को तारमा देखिएको खराबीका कारण असार ५ गतेदेखि अवरुद्ध भएको त्यहाँको विद्युत् सेवा २ सातापछि शुरु भएको थियो । त्यसको महिनादिन नपुग्दै फेरि समस्या देखिएको हो ।

जमिनमुनिको तारमा देखिएको खराबी पत्ता लगाउन नेपालको प्रविधिले नसकेपछि खराबी पत्ता लगाउने मेसिन (केवल फल्ट फाइन्डिङ मेसिन) भारतबाट ल्याई सेवा शुरु गरिएको थियो ।

स्थानीयवासी गोविन्द न्यौपाने माडीमा पटक पटक विद्युत् बन्द हुने समस्याले पीडित बनाएको बताउनुहुन्छ । उहाँका अनुसार अहिले पनि उही पुरानै समस्या दोहोरिएकाले भारतबाट मेसिन ल्याएर हेर्नुपर्ने आवश्यकता भएको छ ।

भारतीय सैनिक कल्याणकारी कोष र विद्युत् प्राधिकरणको लगानीमा सञ्चालित २०६७ सालबाट भरतपुर, चनौली, माडी ३३ केभी प्रसारण तथा ग्रामीण विद्युतीकरण आयोजनाले २०७३ साल कात्तिकमा यहाँ विद्युत् पु¥याएको थियो ।

मंसिरबाट विद्युत् सेवा शुरु भएको माडीमा अहिले करिब चार हजार ग्राहक छन् । पटक पटक जमिनमुनिको खराबीले यहाँका उपभोक्ता मारमा पर्दै आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij