२०८३ साउन ११ सोमबार

सुनकोशी नदीको पुल निर्माण अलपत्र  

ई आर्थिक    शनिबार, साउन ७ २०७४
3.3K
Shares
सुनकोशी नदीको पुल निर्माण अलपत्र   

२०७४ श्रावण ७ शनिबार, गाईघाट (उदयपुर)। दुई वर्षअघि सुनकोशी नदीमा निर्माण शुरु गरिएको स्थायी पुल ठेकेदार कम्पनीको बेवास्ता र लापर्बाहीका कारण अलपत्र हुन पुगेको छ । गाईघाट–दिक्तेल सडकखण्डअन्तर्गत उदयपुर जिल्लाको फोक्सिङटार र खोटाङ जिल्लाको लिच्कीराम्चेबीच सुनकोशी नदीमा निर्माण हुन लागेको उक्त पुल ठेकेदार कम्पनीको बेवास्ता र लापर्बाहीका कारण अलपत्र हुन पुगेको हो ।

राष्ट्रिय योजना आयोगको रु १६ करोडको आर्थिक सहयोगमा निर्माण हुने उक्त पुलको जिम्मेवारी गौरा, पार्वती जेभी प्रालिले प्राप्त गरेको छ । कम्पनीले पुल निर्माण गर्न पिलर गाड्नका लागि खाल्टा खन्ने कार्य शुरु गरेको भए पनि त्यसपछि अहिलेसम्म निर्माणको कुनै काम हुन नसक्दा पुल निर्माण अलपत्र परेको स्थानीयवासी केदार राईले बताए।

पुल निर्माण कम्पनीका सञ्चालक रामुकुमार थापाले केही प्राविधिक र कर्मचारी राखेर क्याम्प स्थापना गरी एक महिनासम्म पिलर गाड्न खाल्टा खन्ने काम शुरु गरे पनि त्यसपछि अहिलेसम्म काम हुन नसकेको फोक्सिङटारका स्थानीयवासी रामबहादुर राउतले बताए । सय मिटर लम्बाइको उक्त पक्की आरसिसी पुलको निर्माण कार्य अलपत्र परेपछि निर्माण नै नहुने हो कि भन्ने चिन्ता लाग्न थालेको खोटाङ भडारेका यातायात व्यवसायी तथा व्यापारी बद्रीकुमार श्रेष्ठले बताए।

यस विषयमा गाईघाट–दिक्तेल सडक कार्यालयका इन्जिनियर कमलप्रसाद यादवसँग पुल निर्माण कार्य ढिलाइ हुनुको कारणबारे प्रश्न गर्दा उनी भन्छन् – “यो पुल हेर्ने जिम्मा आफ्नो नभएको र क्षेत्रीय सडक डिभिजन कार्यालय, महोत्तरी बर्दिबासले हेर्ने भएका कारण के कारणले पुल निर्माण हुन नसकेको हो भन्ने बारेमा आफूलाई पनि कुनै जानकारी भएन ।”

गाईघाट–दिक्तेल सडकखण्डअन्तर्गत सुनकोशी नदीमा अहिलेसम्म पनि स्थायी पुल नहुँदा हिउँदमा अस्थायी बेलिब्रिज जडान गरी यातायात सञ्चालन गर्ने तथा वर्षायाममा सो बेलिब्रिज खोल्ने कार्य हुँदै आएको छ । उदयपुर र खोटाङवासीको सेतुका रुपमा रहेको उक्त पुल निर्माण हुन नसक्दा वर्षायाममा यातायात सञ्चालन बन्द हुने हुँदा यस क्षेत्रका बासिन्दा मर्माहत भएका छन् । सुनकोशी नदीमा पुल नहुँदा पूर्वी तराई भएर पहाडी जिल्ला खोटाङतर्फ आवतजावत गर्ने यस क्षेत्रका बासिन्दालाई वर्षायाममा हप्तौं दिनसम्म पैदल हिँडेर यात्रा गर्न बाध्य हुनुपरेको छ ।

विसं २०५१ मा तत्कालीन प्रधानमन्त्री स्व मनमोहन अधिकारीले शिलान्यास गरेर निर्माण कार्य शुरु गरेको गाईघाट–दिक्तेल सडक निर्माण कार्य आज २३ वर्ष बितिसक्दा पनि सुनकोशी नदीमा स्थायी पुल निर्माण हुन नसक्दा वर्षैभरी यातायातका साधन सञ्चालन हुन सकेका छैन् । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij