५ साउन, इलाम । जिल्लाको उत्तरी क्षेत्रमा उत्पादित आलु बिक्री नहुँदा किसान समस्यामा परेका छन् ।
सन्दकपुर गाउँपालिका–५ जौबारीमा रहेको आलु विकास केन्द्रले सहकारीमार्फत वितरण गरेको बीउमा विभिन्न समस्या देखिएकाले बिक्री नभएको किसानको गुनासो छ । सन्दकपुर गाउँपालिकास्थित जमुनाको चोयाटार सहकारी संस्थामार्फत २५ मन आलुको बीउ ३२ परिवारले रोपेका थिए । जनकदेव जातको रातो आलु र खुमल जातको सेतो आलु सहकारीमार्फत ल्याएर किसानले रापेका थिए ।
जौबारीस्थित कृषि अनुसन्धान केन्द्रबाट ल्याएको आलुको बीउको उत्पादन पर्याप्त भएपनि भित्र खोक्रो हुनेलगायतका समस्याका कारण स्थानीयस्तरमा उत्पादन हुने आलुभन्दा कम बिक्री भएको कृषकले बताएका छन् । आलु विकास केन्द्रका जेटिए बालमुकुन्द पैकारा रासायनिक मलको प्रयोगबारे जानकारी नहुँदा आलुमा विभिन्न समस्या देखिएको बताउनुहुन्छ । एक किलो बीउबाट २२ किलोसम्म आलु उत्पादन भएको छ । स्थानीयस्तरमा उत्पादन भएको आलु एक मन (४० किलो) रु एक हजार १०० मा घरबाटै बिक्री हुने गरेको जमुनाका कुमार गुरुङ बताउछिन् । “आलु बिक्री गरेर नै घरखर्च चलाउनुपर्ने बाध्यता छ, तर बिक्री नहुँदा समस्या भएको छ,” उनीले भनिन्।