२०८३ भाद्र ३१ बुधबार

दाङमा श्रीखण्ड पकेट क्षेत्र निर्माण गर्न ८ हजार बिरुवा रोपिने

ई आर्थिक    शुक्रबार, असार ३० २०७४
13.4K
Shares
दाङमा श्रीखण्ड पकेट क्षेत्र निर्माण गर्न ८ हजार बिरुवा रोपिने

३० असार, दाङ । दाङमा श्रीखण्डको पकेट क्षेत्र बनाउन सुरु गरिएको छ। आर्थिक वर्ष २०७३/७४ बाट जडीबुटी स्वीकृत कार्यक्रमअन्तर्गत बहुमूल्य श्रीखण्ड पकेट क्षेत्र निर्माण गर्न सुरु गरेको जिल्ला वन कार्यालयले जनाएको छ।

पकेट क्षेत्रअनुसार यसवर्ष सात हेक्टर भू–भागमा श्रीखण्डको बिरुवा रोपिने सहायक जिल्ला वन अधिकृत हरि गौतमले जानकारी दिए। उनका अनुसार दुई सामुदायिक वन र निजी जग्गामा गरी सात हेक्टरमा बिरुवा रोपिने छ।

घोराही उपमहानगरपालिका–१८ को वसन्त हरियाली सामुदायिक वनको चार हेक्टरमा, देउकी सामुदायिक वन उपभोक्ता समूह सिसहनीयाको दुई हेक्टरमा र निजी जग्गाको एक हेक्टरमा बिरुवा रोपिने गौतमले जानकारी दिए।

जिल्लामा जडीबुटी फोकल टिमको अनुसन्धान गरेर जग्गा छनोटपछि बिरुवा रोपिएको हो। बिरुवा रोप्नका लागि कार्यालयले निःशुल्क बिरुवा उपलब्ध गराएको छ। एउटा बिरुवालाई कार्यालयले दुई सय रुपैँयामा किनेको छ।

बिरुवा रोपेर संरक्षणका लागि प्रति हेक्टर ५० हजार रुपैँयाका दरले रकम प्रदान गरिने छ।

यसवर्ष जिल्लामा आठ हजारवटा श्रीखण्डका बिरुवा रोपिने छ। अहिले केही स्थानमा बिरुवा रोपिसकिएको छ भने केही स्थानमा रोप्नका लागि तयारी गरिएको छ। धार्मिकरुपले महत्वपूर्ण मानिने श्रीखण्ड रोप्नका लागि धेरैले माग गरेको जिल्ला वन कार्यालयले जनाएको छ।

वन कार्यालयका अनुसार श्रीखण्डको काठ प्रतिकेजी ८०० रुपैँयामा मा बिक्री हुने गर्दछ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij