७ असार, धनकुटा । नेपाल रेडक्रस सोसाइटी धनकुटाको नाममा रहेको मोटरसाइकल निर्वाचन विरोधी गतिविधिमा प्रयोग भइरहेको छ। निर्वाचनमा अवरोध गर्ने र उम्मेदवार अपहरण गर्ने तयारीको योजना बनाइरहेको अवस्थामा प्रहरीले धनकुटाको सिन्धुवा बजारबाट नेत्रविक्रम चन्द नेतृत्वको नेकपा धनकुटाका इन्चार्ज आकास र जिल्ला सदस्य एवम् नगर इन्चार्ज राजनलाई गत आइतबार पक्राउ गरेको थियो।
नेपाल रेडक्रस सोसाइटी धनकुटाको नाममा रहेको बा ३९ प ९०९७ नं को डिस्कभर मोटरसाइकल प्रयोग गरेर ती दुबै जना सिन्धुवा बजार पुगेको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले बताए।
प्रहरी उपरीक्षक राजभण्डारीका अनुसार सोमबार राति खाल्सा सहिदभूमी छिन्ताङ गाउँपालिका आँखीसल्लामा निर्वाचन विरोधी गतिविधि सञ्चालन गरिरहेका रणबहादुर राई र मङ्गलबार साँझ धनकुटा नगरपालिका– १ हिले स्थित टुरिजम होटलमा काम गर्ने सुर्खेत घर बताउने कर्ण ज्ञवालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा अवरोध गर्न खोज्ने चार जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक राजभण्डारीले बताए। रासस