१० जेठ, सोलुखुम्बु । एक भारतीय महिला पर्वतारोही ६ दिनभित्र दुई पटक सगरमाथा आरोहण गर्न सफल भएकी छिन्। एकै याममा दुईपटक सगरमाथाको सफल आरोहण गरेर भारतीय महिला अंशु जम्सेन्पाले नयाँ कीर्तिमान कायम गरेकी हुन् ।
योसँगै छोटो समयावधिभित्र दुई पटक सगरमाथाको आरोहण गर्ने सम्भवत: उनी एकमात्र महिला आरोही भएकी छिन् । दुई सन्तानकी आमा ३७ वर्षीया जम्सेन्पाले मे १६ र २१ तारिख सगरमाथाको आरोहण गरेको सरकारतर्फबाट आधार शिविरका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए।
अहिलेसम्म महिलाले एक हप्ताभित्र दुई पटक सगरमाथाको आरोहण गरेको गिनिज वर्ल्ड रेकर्ड छ।
अंशुले पर्यटन विभागबाट एकै याममा दुईपटक सगरमाथा आरोहणको अनुमति लिएर एजी एभरेस्ट एक्सपीडिसनमार्फत आधार शिविर पुगेकी थिइन । दुईपटक आरोहणका लागि जानसेन्पाले पर्यटन विभागमा प्रतिपटकको ११ हजार डलरका दरले दुईपटकका लागि २२ हजार डलर बुझाएको पर्यटन अधिकृत श्रेष्ठले बताए ।
भारतको अरुणाञ्चल प्रदेशकी जम्सेन्पाले यसअघि सन् २०११ मा १० दिनको अन्तरालमा दुईपटक सगरमाथाको आरोहण गरिसकेकी छिन् । अहिलेसम्म छोटो समयावधिभित्र महिला पर्वतारोहीले सगरमाथाको आरोहण गरेको कीर्तिमान नेपालकी छुरिम डोमा शेर्पाको नाममा छ ।