काठमाडाैं । कालिका नगरपालिका– ११ खोलागाउँका नेकपा (माओवादी केन्द्र) का तर्फबाट वडा सदस्यका उम्मेदवारको आज बिहान चट्याङका कारण मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीयवासी ३९ वर्षीय सिफल प्रजाको चट्याङले मृत्यु भएको हो । प्रहरीका अनुसार आज बिहान ३ः३० बजे चट्याङ परेका बेला बेहोस भएका प्रजालाई उपचारका लागि बिहान ६ बजे कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा ल्याउँदै गर्दा बाटामा नै उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।
नजिकै चट्याङ परेपछि हृदयाघात भएर प्रजाको मृत्यु भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । उनको शरीरमा कुनै चोटपटक नभेटिएको प्रहरीले जनाएको छ ।
त्यस्तै उदयपुरको कटारी नगरपालिका–११ हर्देनी बस्ने वर्ष ४७ का काईला भिमसिने भनेर चिनिने भेषबहादुर खत्रीको आज बिहान ६ बजे घरमा चिया खाइरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको छ ।
साना जलविद्युतमा जडान गरिएको पेल्टी सेटमा करेन्ट प्रवाह हुँदा खत्रीको मृत्यु भएको हो । सो क्षेत्रमा चट्याङले निरन्तर आक्रमण गर्दै आएको छ । अघिल्लो बर्षमा पनि यसरी नै चट्याङ पछि करेन्ट पास हुँदा दुईको मृत्यू भएको थियो । स्थानीय सिरुवानी गाउँका मानवीर हायु र गौथली विकको मृत्यु भएको स्थानीय वेतिनी विद्यालयका शिक्षक कुमार राउतले जानकारी दिए ।
सो क्षेत्र नजिक रहेको नेपाल टेलिकम र एनसेलको टावरका कारण पनि स्थानीय गाउँमा चट्याङको निरन्तर आक्रमण भइरहेको छ । विद्युतको पेल्टी सेट र टावर नजिक भएका कारण निरन्तर चट्याङ परिरहेको हुनाले यसलाई व्यवस्थापन गरी चट्याङबाट हुने यस्ता घटनाबाट बचाउन स्थानीयहरुले माग गरेका छन् । ‘साना जलविद्युतमा जडान गरिएको पेल्टी सेट र एनसेल तथा टेलिकमको टावरको कारणले पर्ने चट्याङलाई व्यवस्थापन हुनु प¥यो ।’ स्थानीय सविता बस्नेतले भनिन् ।
त्यस्तै कटारी–११ गहुँबारीको काफलडाँडा बस्ने वर्ष ५५ का बलबहादुर बस्नेतको पनि घरको दलानमा चट्याङ लागेर मृत्यु भएको हाे । चट्याङले बस्नेतकाे घरको छानामा प्वाल नै पारेकाे थियाे । अहिले मृतकको शव पोष्टमार्टमका लागि कटारी अस्पताल लगिएको छ ।
त्यसैगरी कटारी नगरपालिका हर्देनी सोल भन्ज्याङ्ग निवासी स्थानीय सुब्बा बस्नेतको श्रीमति कल्पना बस्नेतलाई बेहोस रहेको अवस्थामा धरान घोपा अस्पताल पु¥याइएको छ । उदयपुरमा एउटै समयमा चट्याङ्गले तीन स्थानमा घटना घटाएको हो ।
त्यसैगरी चट्याङ लागेर मालिका गाउँपालिका–४ अर्खावाङ निवासी ८० वर्षीय डोरबहादुर खत्रीको आज मृत्यु भएको छ । अपराह्न आफ्नो घरमा बसिरहेका अवस्थामा परेको चट्याङका कारण खत्रीकोे घटनास्थलमै मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले बताउनुभयो ।
चट्याङ लागेर खत्रीसँगै घरमा बसेका छिमेकी १८ वर्षीय लोकेन्द्र केसी, १५ वर्षीय टीकाबहादुर केसी र १० वर्षीया शारदा केसी घाइते भएकामा अर्खावाङस्थित स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।