राष्ट्रपति विद्यादेवी भण्डारी यतिबेला भारतको राजकिय भ्रमणमा छिन् । उनको यो पहिलो विदेश भ्रमण हो तर उनको यही पहिलो विदेश भ्रमण पनि विवादमा फसेको छ । नेपाली सुपरस्टार राजेश हमाललगायताका सेलिब्रेटीदेखि सर्वसाधारण जनतासम्म सबैले यस् भ्रमणको घोर आलोचना गरिरहेका छन् । सामाजिक संजालमा पनि चर्को टिप्पणी भैरहेको छ ।
नेपालको सार्वभौमसत्ता सम्पन्न देशका राष्ट्रपतिलाई भारतमा एउटा कनिष्टस्तरको मन्त्रीबाट स्वागत हुनुले भारतले नेपाललाई हेर्ने नजर प्रष्ट भएको भन्दै अपमानको विष पिएर भएपनि राष्ट्रपतिको भ्रमण छोट्याएर छिटो नेपाल फर्काउनुपर्छ भन्ने कुराहरु चलिरहेका छन् ।
छिमेकी देश भारतका राष्ट्रपति प्रणव मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा पाँचदिने राजकीय भ्रमणका क्रममा सोमबार नयाँदिल्ली पुगेकी राष्ट्रपतिलाई पहिलो गासमै ढुंगा लागेको छ । भारतले नेपालको राष्ट्रपतिको स्वागतका लागि कनिष्ठ राज्यमन्त्रीलाई विमानस्थल पठाएर सम्पूर्ण नेपालीको नै अपमान हुने काम गरेको छ । केहि समय अगाडि भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउँदा नेपालले २ दिन बिदा मात्र दिएको छैन, राष्ट्रपतिलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आफै विमानस्थल पुगेकी थिइन् ।
नेपालका राष्ट्रपति भारतमा जाँदा सार्वजनिक बिदा दिने त सपनाकै कुरा भयो, तर अति नजिकको छिमेकी नेपाललाई भारतले यतितल्लो स्तरको व्यवहार गरेको छ कि जसले सार्वभौम नेपालको आत्मसम्मानमा प्रश्न उठेको छ ।
एकसाताअघि मात्रै बंगलादेशको प्रधानमन्त्री हिसिना शेख भारत भ्रमणमा जाँदा प्रधानमन्त्री नरेन्द्र मोदी स्वयम् विमानस्थलमा पुगेर उनको स्वागत गरेका थिए । जसले भारतमा निकै ठूलो चर्चा पाएको थियो । उनको भ्रमणमा भारतले देखाएको सम्मानले बंगलादेश भारतप्रति निकै सकारात्मक बनेको थियो ।
तर, नेपालको राष्ट्रपति जाँदा भने भारतले सरकारकै अति ‘जुनिएर’ मन्त्रीलाई पठाएर नेपालको अपमान भारतले जानाजान गरेको व्यवहारबाट प्रस्ट हुन्छ । भारतले नेपालप्रति सँधै हेपाहा व्यवहार र कूदृष्टि लगाउँदै आएको साबित भएको छ ।
भारतीय हेपाहा प्रवृत्तिविरुद्ध लडेका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतमा समेत विदेशमन्त्री शुष्मा स्वराज आएकी थिइन् । ओलीपछि प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डलाई स्वागत गर्न पनि विदेशमन्त्री स्वराज नै आएकी थिइन् । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्वागतमा झन् तत्कालिन प्रधानमन्त्री मनमोहन सिंह नै बिमानस्थलमा आएका थिए । तर, यसपटक भारतले नेपालकी राष्ट्रपतिलाई राज्यमन्त्री पठाउनु संयोगमात्रै होइन् । उसको हेपाहा नीतिको निरन्तरता हो ।
नेपाल सरकारसँधै भारतको मनोभावना बुझेर चल्न खोज्छ । यसको फाइदा भारतले यसरी लिँदैछ भन्ने पनि जनाताको आक्रोस छ । आफ्नो देशको राष्ट्रपतिमाथि भारतमा अपमान हुँदा नेपाली जनताले ठुलो अपमानित महसुस गरेको छ ।
राष्ट्रपतिको अपमान भएको भन्दै सामाजिक संजालमा पनि चर्को टिप्पणी भैरहेको छ । जसमा नेपाली चलचित्रका चर्चित नायक राजेश हमालले पनि फेसबुकमा स्टाटस लेख्दै आक्रोश पोखेका छन् ।
उनले लेखेका छन् कि–‘जब सार्वभौम र स्वतन्त्र राज्यको सरकारले यसको स्थान समान रुपमा देखाउन सक्दैन, तब यस्तो परिणाम आउँछ । तर, कृपा पात्रको रुपमा व्यवहार गर्छ । हाम्रो सरकार र नेतृत्वले अन्तरराष्ट्रिय जगतमा छवि कलंकित मात्र पारेको छैन, स्वतन्त्र र सार्वभौम राज्यको नागरिकको गर्व पनि ध्वस्त पारेको छ । सरकारलाई त लाज हुनुपर्ने हो ।’