काठमाडौँ, १ वैशाख । वज्रयोगिनी–मणिचूडको प्रचारप्रसार गर्ने उद्देश्यले नयाँ वर्षको अवसर पारेर दुईदिने महोत्सवको आयोजना गरिएको छ ।
काठमाडौँ उपत्यकाको उत्तर पूर्वी भेगमा रहेको मणिचूड क्षेत्र ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छ । वज्रयोगिनी माइको मन्दिर र मणिचूड क्षेत्रलाई चिनाउन नयाँ वर्षका अवसरमा दुईदिने महोत्सवको आयोजना गरिएको हो ।
महोत्सवको उद्घाटन गर्नुहुँदै सांसदद्वय दीपकप्रसाद कुइँकेल र रामेश्वर फुयाँलले पर्यटन प्रवद्र्धनका लागि राजनीति नगरी अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । उद्घाटनपछि सांस्कृतिक प्रदर्शनको आयोजना गरिएको थियो ।
शुक्रबार र शनिबार आयोजना हुने महोत्सवमा तामाङ, नेवारलगायत समुदायको कला, संस्कृति एवम् वेशभूषाको समेत प्रस्तुत भइरहेको छ । महोत्सवका क्रममा शनिबार वज्रयोगिनीदेखि मणिचूडसम्म म्याराथुन, मणिचूड कुण्डमा पौडी प्रतियोगिता, कुण्ड नजिकै रहेको साँढे उचाल्ने प्रतियोगिता आयोजना हुनेछ ।
ढुङ्गाको साँढे उचालेमा गानो गोलाको रोग निको हुने विश्वाससमेत छ । यही मान्यताका आधारमा यहाँ धार्मिक पर्यटक आउने गर्छन् । मणिचूड समुद्री सतहबाट एक हजार ८०० मिटर उचाइमा छ ।
काठमाडौँबाट २५ किमीको दूरीमा रहेको वज्रयोगिनी र मणिचूड क्षेत्रबाट विभिन्न हिमशृङ्खला र उपत्यकाको मनोरम दृश्य हेर्न सकिन्छ । यहाँबाट सूर्योदयको दृश्य नगरकोटबाट भन्दा राम्रो देखिने भए पनि प्रचारप्रसारको अभाव र पूर्वाधारको विकास हुन नसकेकाले पछि परेको स्थानीयवासीको गुनासो छ ।
यहाँबाट उपत्यकाका पर्यटकीयस्थल चिसापानी, नगरकोट र झुले जाने पदमार्गसमेत रहेको छ । यस क्षेत्रमा कुनै बखत राजा मणिचूडले शासन गर्नुभएको इतिहास छ ।
साँखुमा चैत शुक्ल पूर्णिमाका दिन मङ्गलबारदेखि सुरु भएको वज्रयोगिनी माइको जात्राको मुख्य दिन आज माईलाई रथमा राखी साँखु परिक्रमा गराइयो । सात दिनसम्म मनाइने तीन सय वर्ष ५० पुरानो वज्रयोगिनीको जात्रा वैशाख ४ गते सकिने र ५ गते माइको मूर्तिलाई वज्रयोगिनीको मन्दिरमा लगिन्छ ।
चैत मसान्तमा बिहीबार साँखुमा ठड्याइएको बिस्केटको लिङ्गो भने भोलि (शनिबार) ढालिने स्थानीय सञ्चारकर्मी पवनलाल श्रेष्ठले जानकारी दिनुभयो । रासस