२९ चैत, काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडमा तीन अर्ब रुपैयाँ बराबर आवेदन परेको विक्री प्रवन्धक एनएमबी क्यापिटलले जानकारी दिएको छ ।
स्वदेशीले चैत २५ गतेदेखि साधारण सेयर (आईपिओ) निष्काशन गरेको थियो । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा तीन करोड रुपैयाँ बराबरको तीन लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।
निष्काशित कुल सेयरमध्ये १२ हजार कित्ता कर्मचारी र १५ हजार कित्ता म्चुअल फण्डका लागि छुट्याएको थियो भने बाँकी दुई लाख ७० हजार कित्ता सेयरका लागि आम सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था उक्त वित्तीय संस्थाले मिलाएको थियो । उक्त वित्तीय संस्थाको सेयर न्युनतम ५० कित्ता अर्थात् पाँच हजार रुपैयाँ र अधिकतम् १५ सय कित्ता अर्थात् एक लाख ५० हजार रुपैयाँसम्मको आवेदन दिने व्यवस्था मिलाइएको थियो ।
हाल सात करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको साधारण शेयर पश्चात पूँजी १० करोड रुपैयाँ पुग्ने भएको छ । कम्पनीले विभिन्न ३९ जिल्लामा ४७ शाखामार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।
आश्वामार्फत सजिलै तरिकाले सेयर भर्ने व्यवस्था भए पनि सर्वसाधारण र साना लगानीकर्ताले यो सेयरमा त्यत्ति वास्ता गरेका थिएनन् ।