२०८३ साउन १० आइतबार

खानेपानीको सुविधाबाट गाउँलेको दैनिकी परिवर्तन

ई आर्थिक    बुधबार, चैत्र १६ २०७३
6.9K
Shares
खानेपानीको सुविधाबाट गाउँलेको दैनिकी परिवर्तन

१६ चैत, चौतारा । वर्षौंदेखि खानेपानीको समस्या झेलिरहेका सिन्धुपाल्चोकको नेपाने गाउँमा खानेपानी योजना सञ्चालनमा आएपछि स्थानीय खुसी भएका छन् ।

स्थानीयको व्यापक जनश्रम तथा विभिन्न सङ्घसंस्था एवम् व्यक्तिको आर्थिक सहयोगमा सो योजना सञ्चालनमा आएपछि पुस्तौँदेखिको खानेपानीको समस्याबाट गाउँलेले छुटकारा पाएका हुन् ।

गाउँमा रहेका सीमित कुवाबाट पानी पाउन नसकेपछि विकल्पको रुपमा घन्टौँ ओरालो उकालो हिँडेर टाढाको खोलाबाट एक गाग्री पानी ल्याउनु पर्ने बाध्यता थियो । बर्खायाममा केही सुविधा भए पनि हिउँदको सुक्खायाममा ज्यादै सास्ती ब्यहोर्नुपरेको स्यानीय ईश्वरी तामाङले बताउनुभयो ।

“सुक्खायाममा एक गाग्री पानी ल्याउँदैमा सारा बिहान बित्ने गथ्र्यो”, स्थानीय हीरामाया तामाङले भन्नुभयो, “अरु काम गर्न समय नै पुग्दैन थ्यो । कुवाको पानी पाउन राति २ बजे नै उठ्नु पथ्र्यो, ढिला भए कुबामा जम्मा भएका पानी सकिन्थ्यो र खोलामा नगई विकल्पै थिएन । अब त घर आँगनमा धारा जडान भएपछि निकै सुविधा पुगेको छ ।”

“यसअघि हामीले तरकारी खान आक्कलझुक्कल सदरमुकामबाट किनेर ल्याउनु पथ्र्यो”, अर्की गृहेणी फूलमाया तामाङले भन्नुभयो, “टोलटोलमै धारा भए पछि विभिन्न तरकारीखेती गरी गाउँलेले पाँचदेखि २५ हजारसम्म आम्दानी गरेका छन् ।”

खानेपानीको अभावमा एक दशकअघि गाउँलेको अथक प्रयासबाट सदरमुकाम चौतारास्थित लामाखेतको मुहानबाट पानी लगिएको थियो । करिब आठ किमि टाढाबाट लगिएको खानेपानी पाइप छुटाएर मुहान आसपासका बासिन्दाले प्रयोग गर्ने गरेकाले पानीको समस्या हुन थाल्यो । समस्याको स्थायी समाधानका लागि स्थानीय डम्बरबहादुर तामाङको सक्रियतामा साविक पिपलडाँडा गाविस हाल चौतारा साँगाचोकगढी नगरपालिका–१ का स्थानीयको खेतको मुहान रु सात लाखमा खरिद गरी १० किमि लामो पाइप लाइनमार्फत पानी लगिएको छ ।

साविक सानोसिरुबारी–५ हाल चौतारा साँगाचोकगढी नगरपालिका–७ मा पर्ने सो गाउँको १३५ घरधुरीको लागि २३ वटा धाराबाट पानी वितरण गरिएको छ । १८ घनमिटर क्षमताका रिर्जरभ ट्याङ्की निर्माण गरेर बिहान बेलुका दुई÷दुई घन्टा पानी वितरण गरिन्छ ।

खानेपानी उपभोक्ता समितिका अध्यक्ष समेत रहेका तामाङका अनुसार योजना सम्पन्न गर्न स्थानीयको रु ११ लाख मूल्य बराबरको जनश्रम, संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी), ब्रिजहेड लि, सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च (सिडिइसिएफ) बाट रु २१ लाख र अन्य स्रोतबाट रु. सात लाखसहित कुल ३९ लाख खर्च भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij