सन् २०१७ को सुरुमै सम्पन्न हुनुपर्ने सुरुङमार्गको काम समयमा हुन नसक्दा लागत २७ प्रतिशत बढ्यो
टेकराज थामी, काठमाडौं/निजी लगानीमा निर्माण गर्न लागिएको महत्वाकांक्षी काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङमार्गको लागत रकम झन्डै ३० प्रतिशतले बढ्ने भएको छ । नेपाल पूर्वाधार विकास कम्पनीका अनुसार अब निर्माण सुरु गर्दा सुरुङमार्गको लागत रकम ४८ अर्ब रुपैयाँ पुग्नेछ । यो रकम पाँच वर्षअघिको लागत रकमभन्दा २७ प्रतिशतले धेरै हो ।
पाँच वर्षअघि सुरुङ मार्गको लागत ३४ अर्ब ८८ करोड रुपैयाँ तय गरिएको थियो । यो मकवानपुरको हेटौँडा बजारदेखि काठमाडौंको बल्खुसम्म सुरुङमार्ग जोडिँदाको लागत हो ।
लागत रकम बढ्यो
नेपाल पूर्वाधार विकास कम्पनी सञ्चालन समिति सदस्य सुवास ठकुरीले सुरुङमार्ग निर्माणको लागत रकम पहिलेको तुलनामा बढेको बताए । उनले भने, ‘सुरुङमार्ग निर्माणको लगानी बढेको छ । करिब ४८ अर्ब रुपैयाँ पुग्न सक्ने हाम्रो अनुमान छ । यो बल्खुसम्म जोड्ने सडक निर्माणको कुल बजेट हो । यदि सुरुङमार्ग बल्खुसम्म नजोडी चोभार या त्योभन्दा पनि उतासम्म मात्रै जोड्ने हो भने लागत रकम घट्न सक्छ । यसो गरिँदा करिब ४० अर्ब रुपैयाँमा सुरुङमार्ग बन्न सक्छ ।’
तर, कम्पनीले सुरुङ मार्ग निर्माणका लागि आवश्यक लगानी अझै पनि जुटाउन सकेको छैन । कम्पनीले नेपाल सरकारसँग यसअघि गरेको सम्झौताअनुरूप काम भएको भए १ जनवरी २०१७ मै सुरुङमार्ग बनिसकेको हुन्थ्यो । सुरुङमार्ग निर्माणको अवधि पाँच वर्ष राखिएको थियो ।
सबै प्रतिवेदन तयार
कम्पनीले सुरुङमार्ग निर्माणका लागि अवश्यक विस्तृत परियोजना रिपोर्ट (डिपिआर), वातावरणीय अध्ययन प्रतिवेदन (इआइए) तयार गरिसकेको छ ।
सञ्चालक समितिका सदस्य ठकुरीका अनुसार सुरुङमार्ग निर्माणका लागि आवश्यक लागनी गर्न काठमाडौंमा भएको लगानी सम्मेलनमा सहभागी विदेशी लगानीकर्ताले चासो देखाएका छन् । उनले भने, ‘पहिले लगानी जुटाउन नसक्दा सुरुङमार्ग निर्माण भएन । अहिले हामी चनाखो भएका छौँ । दुई दिनसम्म चलेको लगानी सम्बन्धी सम्मेलनमा हामीले पनि भाग लियौँ । त्यहाँ सुरुङमार्ग निर्माणका लागि आवश्यक लगानी जुटाउन बहस भयो । सम्मेलनमा हामीले रिपोर्ट पेस ग¥यौँ । सबै सकारात्मक भएका छन् । धेरै लगानीकर्ता आउने सम्भावना बढेको छ ।’
यस्तो हुनेछ रुट
सुरुङमार्ग काठमाडौंको बल्खुबाट सुरु हुनेछ जुन कुलेखानी हुँदै हेटौँडा जोडिनेछ । यसको कुल लम्बाइ ५८ किमि हुनेछ । यसमध्ये ४.५ किमि मात्रै सुरुङ हुनेछ । यसभित्र तीनवटा सुरुङमार्ग निर्माण हुनेछन् । सुरुङमार्गको कुल लागतमध्ये २० प्रतिशत लगानी सर्वसाधारणको हुनेछ । बाँकी ८० प्रतिशत भने स्वदेशी तथा विदेशी लगानीकर्ता र वित्तीय संस्थाको हुनेछ ।
विकास कम्पनीका अनुसार आयोजनाको पूर्वातयारीकै क्रममा ६० करोड रुपैयाँ खर्च भएको छ । यस अवधिमा विस्तृत सम्भाव्यता अध्ययन सकिएको छ, डिटेल प्रोजेक्ट रिपोर्ट निर्माण, जग्गा अधिग्रहणको विवरण संकलन, वातावरणीय प्रभाव मूल्यांकन अध्ययनका काम सकिएका छन् । नयाँ पत्रिकाबाट