काठमाडौँ, १२ फागुन । काठमाडाैं महानगरपालिकाले वडालाइ हेरफेर गरेकाे छ । हेरफेर गरेर यसअघि ३५ वडा रहेको महानगरपालिकामा अबदेखि ३२ वडा कायम भएको छ ।
स्थानीय निकाय पुनःसंरचना आयोगको सिफारिसका आधारमा जिल्ला निर्वाचन कार्यालय काठमाडौँले मतदानस्थल र मतदान केन्द्र सिफरिस गर्न ३२ वटा वडा पहिचान गरी पठाएको छ । सो विषयमा कामपाले आज वडाका प्रशासकीय प्रमुखलाई बोलाएर सात दिनभित्र कार्यसम्पन्न गर्न निर्देशन दिएको कामपाका सञ्चार अधिकृत चन्द्रमणि भट्टराईले जानकारी दिनुभयो ।
भट्टराईका अनुसार साबिक वडा नं २२ र २४ मिलाएर हालको वडा नम्बर २२, साबिक २५ र २६ मिलाएर २४, त्यसैगरी २७ र २८ मिलाएर २५ बनाइएको छ । यसअघि वडा नं २७ अब २६, भएको छ भने वडा नम्बर ३० चाहिँ २७ भएको छ । ३१ वडा नम्बर २८ र ३२ नम्बर २९ भएको छ । ३३ नम्बर ३०, ३४ नम्बर ३१ र ३५ नम्बर ३२ वडा नम्बर कायम गरिएको छ ।