१२ फागुन, काठमाडौं । राजधानीको भृकुटीमण्डपमा आजदेखि २८ औँ राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी सुरु भएको छ । फागुन १७ गतेसम्म चल्ने प्रर्दशनीमा ७५ वटै जिल्लाका लघु, घरेलु तथा साना उद्यमीहरुको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।
घरेलु तथा साना उद्योग विकास समितिले उक्त प्रदर्शनीको उद्घाटन गर्नुहुँदै गृहमन्त्री विमलेन्द्र निधिले स्थानिय तहको चुनाव र संविधान संसोधनलाई एक अर्काको परिपूरक बनाएर लैजान सके मात्र संविधानको सही कार्यान्वयन हुने बताउनुभयो । उहाले भन्नुभयो, “स्थायी सरकार सहितको देशको संवृद्विको लागि पनि आगामी माघ सात गतेभित्र तिन तहको निर्वाचन गर्नु अपरिहार्य रहेको छ ।”
त्यस्तै कार्यक्रममा उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादेले साना तथा घरेलु उद्योग नीतिलाई प्राथमिकताका साथ अगाडी बढाईने बताउनुभयो ।
२०४२ साल देखी निरन्तर रुपमा आयोजना गर्दै आएको राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी तथा उत्कृष्ट लघु, घरेलु तथा साना उधमी पुरस्कार कार्यक्रम यस बर्ष पनि प्रिथक रहेको आयोजकले जनाएको छ।
प्रदर्शनीमा नेपाली ढाका तथा अल्लोका कपडा, कृषि जन्य अर्गानिक बस्तु, छालाका बस्तु, रत्न पत्थर, करुवा, खुकरी, मिथिला आर्ट लगायत हस्तकलाका सामाग्री प्रदशनीको लागि राखिएका छन् ।
प्रदर्शनीमा ३ सयभन्दा बढी प्रदर्शनी कक्ष रहेका छन् भने ३ सय ५० उद्यमी सहभागी रहेको आयोजकले जानकारी दिएको छ । ६ दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा ३ लाख भन्दा बढी अवलोकनकर्ताहरुले अवलोकन गर्ते आयोजकले अपेक्षा राखेको छ । प्रर्दशनी अवधिभर ५ करोड बराबरको कारोबार हुने आयोजकले अनुमान गरेको छ ।
प्रदर्शनी अवधिभर उत्कृष्ट लघु, घरेलु तथा साना उद्यमीलाई पुरस्कृत समेत गरिने बताइएको छ ।