
लोकबहादुर खड्का
नेपालले व्यहोरिरहेको कहाली लाग्दो बेरोजगारीको अबस्था भनेको बिगत लामो समयसम्म अपनाइएको शिक्षा प्रणाली, आर्थिक संरचना एवं राज्यले निर्धारण गरेको नियम, कानुन एवं त्यसको कायन्वयन प्रकृयाको संमष्ठिगत रुप हो । त्यसैले समाधानका उपायहरु पनि रातारात अवलम्बन गर्न सकिदैन । हिजोको राजनैतिक उथल पुथलमा समेत बेरोजगारी समस्याले मूख्य भूमिका खेलेको पाइन्छ ।
राजनीति गर्ने र नेतृत्वको अनुसरण गर्ने भनेको नै रोजगारीको अवसरहरु आफूले प्राप्त गर्नु हो भन्ने बुझाई हुने र यो वा उ पार्टीमा समाबेश हुने तर राजनैतिक नेतृत्वले चाहाँदैमा पनि आम रोजगार युवाहरुलाई रोजगार बनाउन नसक्ने जसको कारण समग्र राजनीति प्रति नै युवाहरुको वितृष्णा जाग्ने तथा युवा उमेरमा परिवार प्रतिको दायित्व बहन गर्नको लागि स्वदेशमा बिकल्प नभएपछि दैनिक १५०० युवा बैदेशिक रोजगारीमा होमिएको आजको यथार्थ हो ।
यही अबस्थामा देशभर स्थापित ३४१४९ सहकारी संस्थाहरुले ५७८५४ जनालाई प्रत्यक्ष नियुक्ती दिएर नै रोजगारी उपलब्ध गराएको छ भने संस्थाबाट ऋण लिई उद्यम गरेर स्वरोजगार बन्नेको संख्या त्यो भन्दा धेरैछ । संस्थाले आवश्यकता अनुसार सिपमूलक तालिम,ब्यवसायिक तालिम तथा नेतृत्व बिकास तालिम समेत उपलब्ध गराउने भएकोले त्यस मार्फत पनि स्वरोजगारीको अवस्थाहरु सृजना भईरहेकोछन् । देशमा बार्षिक रुपमा सहकारी संस्था दर्ता भई संचालनमा आउने प्रकृया पनि तिब्रगतिमा अगाढि बढिरहेकोछ ।
गरीब तथा बिपन्न बर्गमा सरकारी तथा गैर सरहकारी संस्थाहरुले सहकारीको संजाललाई उपयुक्त माध्यम ठानेर सोही मार्फत सेवा प्रबाह गरिरहेकाछन् । यसै सन्दर्भमा अर्थ मन्त्रालय युवा तथा साना ब्यवसायी स्वरोजगार कोषले समेत थोक कर्जा प्रबाह गर्ने मूख्य माध्यम सहकारी संघ÷संस्थाहरुलाई नै बनाएकोछ । स्वरोजगार कोष र बैंक, बित्तीय संस्था तथा सहकारी बिच निश्चित ब्याज दरमा कर्जा संझौता भई कोषको लक्ष्य र उद्देश्य हासिल गर्नको लागि सहकारी संस्था मूख्य साझेदारको रुपमा स्थापित भईसकेकाछन् ।
बिपन्न बर्ग कर्जा अन्तर्गत एक तिहाई रकम सम्बन्धित बैंक बित्तीय संस्थाले कोषमा उपलब्ध गराउने र उक्त रकम कोषले बेरोजगार युवालाई शुलभ कर्जा उपलब्ध गराई स्वरोजगार बनाउने महत्वपूर्ण कार्य सम्पादन गर्नको लागि कोषसंग सहकारी भन्दा उपयुक्त माध्यम पाउन सकिरहेको छैन । यसैले पनि सहकारी मार्फत स्वरोजगारको अवसरहरु सृजना हुन सक्दछन् भन्ने प्रमाणित हुदै आएकोछ ।
२०६५ सालमा कोष स्थापना भई बैंक बित्तीय संस्था मार्फत थोक कर्जा प्रबाह गर्दा बिशेष गरी सरकारी बैंकहरुले बिपन्न बर्ग कर्जा आवश्यकता अनुसार प्रबाह नगरिदिएको कारणले कोषमा लगानी योग्य रकम प्रयाप्त हुने तर बेरोजगार युवाहरुले कर्जा नपाउने अबस्था सृजना भयो । यही समस्यालाई ध्यान दिएर कोषको संचालक समितिले सहकारी संस्थाहरु मार्फत पनि थोक कर्जा प्रबाह गर्न सक्ने गरी निर्णय गरेपछि रकम प्रबाहले केही गति लिएकोछ ।
हाल सम्म देश भरका ७५० वटा भन्दा बढी सहकारी संस्थाहरुसंग कर्जा संझौता गरी थोक कर्जा प्रबाह गरिरहेको छ भने उक्त संस्थाहरु मार्फत ३१४२७ जनालाई स्वरोजगार बनाई सकेको छ । सहकारी संस्थाहरुलाई लक्षित गरी सूचना प्रकाशित गर्दा कोषले बनाएको मापदण्डको आधारमा प्रस्ताव पेश गर्दा सहकारी संस्थााहरुको आन्तरिक सुशासन एवं ब्यवस्थापकिय क्षमतामा समेत सुधार आएकोछ ।
यो अबस्थामा स्वरोजगारका अवसरहरु बृद्धि गर्न सहकारीलाई महत्वपूर्ण माध्यमको रुपमा अपनाउनको लागि राज्यको ध्यानाकर्षण हुने हो भने सहकारी क्षेत्रले त्यो अपेक्षा पूरा गर्न सक्दछ तर यसको लागि सम्बन्धित निकायले सहकारी संघ-संस्थाको ब्यवस्थापकिय क्षमता अभिबृद्धिको लागि ध्यान दिनुपर्दछ ।
औद्योगिक बिकास भईनसकेको कृषिमा आधारित ग्रामिण अर्थतन्त्र भएको मुलुकको समस्यानै बेरोजगारी समस्या हो तर यसको समाधानको लागि तत्कालिन सरकारहरुले युवाहरुलाई वैदेशिक रोजगारीमा पठाउनेनै उत्तम बिकल्पको रुपमा लिदैं बिदेशमा श्रम बजारको खोजि भईरहने परिपाटीले राज्यमा गम्भिर आर्थिक समस्या ब्यहोर्नु पर्नेहुन्छ ।
यसबाट नेपालको दिगो आर्थिक समृद्धिको लागि बृहत्तर रुपमा स्वरोजगारीका अवसर सृजना गर्नुपर्दछ । यसको लागि देशमै युवाहरुलाई सानो सानो लगानीबाट उद्यमी बनाई स्वरोजगारको अवसरहरु सृजना गर्न सहकारी क्षेत्र महत्वपूर्ण हुन्छ । यसैगरी राज्यका सम्बन्धित निकायले सहकारी संस्था स्थापना, संचालन तथा सुदृढिकरण गर्दै कार्यक्रम साझेदारीमा ध्यान पु-याउने हो भने राज्यबाट युवा पलायन रोक्न र स्वरोजगारको अवसरहरु सृजना गर्न सहकारी संघ-संस्थाहरुले महत्वपुर्ण भूमिका खेल्न सक्दछन् । यो कामको थालनी कोषले गरिसकेको छ ।
बिशेष गरी बिदेशिने युवाहरुलाई स्वदेशमै उद्यमशिल बनाउने लक्ष्य लिएर कार्यरत कोषले सहकारी मार्फत नै यो लक्ष्य पूरा गर्ने योजना बनाएकोछ भने सहकारी संस्थाहरुले पनि सोही बमोजिम आफ्नो योग्यता प्रदर्शन गरिरहेकोले आगामी दिनमा समेत सहकारी संस्थाालाई मूख्य साझेदार बनाएर कार्यक्रम अगाढि बढाउदा कोषले निर्धारण गरेको लक्ष्य सहकारी संस्था मार्फतनै पूरा गर्न सकिने संभावना देखिएकोछ ।
समुदायमा आधारित सहकारी संस्थाहरुबाट स्थानिय संभावना र अवसरहरुको पहिचान र परिचालन गर्न सहज हुने,आफ्नै गाऊंठाऊमा स्थानिय साधन र श्रोत प्रयोग गरेर आफैसंग भएको परम्परागत सिपद्वारा आय आर्जन गर्ने अभियान समेत सहकारी मार्फत संचालन गर्न सकिन्छ ।
दैनिक रुपमा बिदेशिने युवाहरुलाई बर्तमान अवस्थामा सरकारी वा निजी क्षेत्रले ब्यवस्थापन गर्र्नेगरी रोजगारीका अवसर सृजना गर्न नसक्ने भएकोले बेरोजगार युवालाई आवश्यक पर्ने पूजी तथा प्रबिधि र बजार संम्बन्ध बिस्तारको लागि सहकारी क्षेत्रको प्रबद्र्धन र प्रयोग गरेर मात्र बेरोजगारी समस्यालाई ब्यवस्थान गर्दै स्वरोजगारका अवसर सृजना गर्न सकिन्छ ।
(लेखक खड्का युवा स्वरोजगार कोषमा कार्यरत हुनुहुन्छ ।)