२०८३ साउन १० आइतबार

व्यवसायी अग्रवाल अपहरित, अपहरणकारी समूहका दुईजना पक्राउ

ई आर्थिक    शनिबार, फाल्गुन ७ २०७३
4.3K
Shares
व्यवसायी अग्रवाल अपहरित, अपहरणकारी समूहका दुईजना पक्राउ

७ फागुन, काठमाडौं । न्युरोडका व्यवसायी श्यामसुन्दर अग्रवाल बिहीबार अपहरणमा परेका छन् । सुन्धारास्थित एक होटेलमा बन्धक बनाई करिब नौ लाख रुपैयाँ फिरौती लिएर उनलाई कोठामै थुनेर अपहरणकारी भागेका छन् । युवतीमार्फत होटेलमा बोलाएर उनलाई अपहरण गरी बन्धक बनाइएको हो ।

व्यापारी अग्रवाललाई सुन्धाराको सनराइज गेस्ट हाउसमा करिब ६ घन्टा बन्धक बनाइएको थियो । अपहरणकारीले उनीबाट ७२ हजार नगद र आठ लाख रुपैयाँको चेक लिएका थिए । मुखमा पट्टी बाँधी होटेलको कोठामा बाहिरबाट चुकुल लगाएर अपहरणकारी भागेको प्रहरीले जनाएको छ । अपहरणकारी भागेपछि व्यापारी अग्रवालले कोठामा भित्रबाट ढकढक गरेपछि होटेलका कर्मचारीले ढोका खोलेका थिए ।

प्रहरीले अपहरणकारी समूहका दुईजनालाई शुक्रबार पक्राउ गरेको छ । अग्रवालबाट लिएको आठ लाख रुपैयाँको चेक साट्न जाने दुई युवकलाई प्रहरीले पक्राउ गरेको हो । अपहरणमा संलग्न युवतीसहित सबै फरार छन् । मखनमा सारी पसल चलाउँदै आएका अग्रवालको युवतीसँग भने पहिले नै चिनजान रहेको पक्राउ परेकाहरूले बताएका छन् । युवतीले भेट्न बोलाएपछि अग्रवाल होटेलमा गएका थिए । त्यहाँ रहेका तीन युवकले उनलाई नियन्त्रणमा लिई हातखुट्टा बाँधेर पैसाको बार्गेनिङ सुरु गरेका थिए । अग्रवालले तत्काल ७२ हजार र आठ लाख रुपैयाँको चेक दिएका थिए ।त्यसबेला मुखमा पट्टी तथा हातखुट्टा बाँधेको अवस्थामा अग्रवाल भेटिएका थिए । महानगरीय अपराध महाशाखा, काठमाडौं परिसर तथा महानगरीय प्रहरी वृत्त जनसेवाले घटनाको अनुसन्धान सुरु गरेको छ । घटनामा संलग्नहरूको खोजी भइरहेको महाशाखाका प्रहरी उपरीक्षक प्रकाशजंग कार्कीले बताए ।  नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij