२७ माघ, पोखरा । आगामी फागुन १७ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि यहाँका विद्यार्थी सङ्गठन आ–आफ्नो तयारीमा जुटेका छन् ।
निर्वाचनका कारण यहाँका क्याम्पसमा चहलपहल बढेको छ । पछिल्लो समय विद्यार्थी सङ्गठनले भेला र कार्यकर्ता भेटघाट बढाएका छन् । विभिन्न कारणले २०६५ सालयता स्ववियु निर्वाचन हुन सकेको छैन । स्ववियु निर्वाचनलाई लक्षित गरी अनेरास्ववियुले आफ्नो तयारीलाई तीव्र बनाएको सो सङ्गठनका जिल्ला अध्यक्ष विवेक देवकोटाले बताए ।
“निर्वाचन हुने सबै क्याम्पस कमिटीलाई क्रियाशील गरिएको छ,” उनले भने । शान्तपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न अन्य विद्यार्थी सङ्गठनसँग छलफल गरिरहेको उनको भनाइ छ ।
यस्तै जिल्लाका विभिन्न क्याम्पसमा साङ्गठनिक गतिविधि तीव्र पारेको अनेरास्ववियु (क्रान्तिकारी)का जिल्ला अध्यक्ष नारायण बरालको भनाइ छ ।
स्ववियुको निर्वाचनका लागि क्याम्पसका प्रत्येक एकाइलाई सक्रिय पारेको नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य भानु ढकालले बताए । “स्ववियु निर्वाचन कुनै पनि हालतमा हुनुपर्छ,” उनले भने ।