२०८३ साउन ११ सोमबार

रानीपानीमा एकगाग्री पानी लिन डेढ घन्टा

ई आर्थिक    बुधबार, माघ २६ २०७३
3.2K
Shares
रानीपानीमा एकगाग्री पानी लिन डेढ घन्टा

२६ माघ, फलेवास (पर्वत) । नजिकमा पानीको स्रोत नहुँदा यहाँको रानीपानी–५ इमिचौरका बासिन्दा खानेपानीका लागि डेढ घन्टाको बाटो हिँडेर कालीगण्डकी किनारमा पुग्न बाध्य छन् ।

गाउँका करिब दुई दर्जन परिवारको दैनिकी तीन वर्षयता पानी बोक्दैमा बित्ने गरेको छ । विसं २०६७ सालमा पश्चिम नेपाल खानेपानी तथा सरसफाइ परियोजनाले निर्माण गरेको लिफ्ट खानेपानी आयोजना बिग्रिएपछि स्थानीयलाई पिउने पानीकै लागि दैनिक घन्टौँ समय खर्चिनुपरेको हो । “दुई वर्षसम्म राम्रैसँग चलेको थियो” स्थानीय मायाँ श्रेष्ठले भन्नुभयो, “त्यसपछि पुरानै दुःख फर्किए । कसैले खानेपानी माग्यो भने पनि लाजै लाग्छ ।”

इमिचौर मात्रै नभएर गाविसको मुख्य बस्ती रहेको नेपाने, पस्यार, पूर्तिडाँडा, बिहादीलगायतका गाउँमा खानेपानीको चरम समस्या छ । पानी अभावकै कारण कहिलेकाहीँ स्कुले विद्यार्थी समयमा विद्यालय जान पाउँदैनन् ।

“पहिले भएका मूल पनि भूकम्पपछि सुके” स्थानीय धनसरा पौडेलले भन्नुभयो, “अहिले पानीकै लागि रुन मात्रै सकिएको छैन । गाउँका अधिकांश युवा गाउँ बाहिर छन् । गाउँमा महिला र केटाकेटी मात्रै भएका कारण पानी बोक्ने मान्छेको अभावले पनि बढी समस्या सिर्जना हुने स्थानीयले बताए ।

जिल्लामा खानेपानी तथा सरसफाइ परियोजना सञ्चालन गरेको पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाले रानीपानीमा मात्रै २१ वटा खानेपानी आयोजना सञ्चालन गरेको छ ।

तर, स्थानीयले पिउने पानीकै लागि दैनिक आधा समय खर्चन बाध्य छन् । “पहिलो चरणमै बनेका १६ योजना छन्,” परियोजनाका फिल्ड संयोजक देवराज पुरीले भन्नुभयो, “अहिले चारवटा निर्माणाधीन र एउटा निर्माणको चरणमा छन् ।” आयोजनाले दुईवटा पुराना योजना मर्मतको तयारी गरेको उहाँले बताउनुभयो ।

रानीपानीमा खानेपानीको समस्या पुरानै भएपनि २०७२ को भूकम्पयता अझ जटिल बनेको स्थानीय राजकुमार श्रेष्ठले बताउनुभयो । पहिले चैतपछि असारसम्म मात्रै समस्या हुन्थ्यो उहाँले भन्नुभयो, “अहिले पुस नलाग्दै पानीका मूल सुक्नथाले ।”

खानेपानीका नयाँ आयोजना निर्माण गर्ने पश्चिम नेपाल खानेपानी तथा सरसफाइ परियोजनाले सम्पन्न गरेका आयोजना पनि निर्माणको केही समयमै बिग्रिएपछि स्थानीयलाई पिउने पानीको समस्या चुलिएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij