२६ माघ, बाबियाचौर (म्याग्दी)। ताकम गाविसका सबै बस्तीमा सडक सञ्जाल विस्तार भएपछि यहाँका बासिन्दा अहिले घर घरमा खानेपानी सुविधा उपलब्ध गराउन जुटेका छन् ।
जिविसअन्तर्गत सञ्चालित पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाको सहयोगमा रु दुई करोड ६७ लाख ८८ हजार ५५५ को लागतमा कोतखोला तेस्रो खानेपानी तथा सरसफाइ आयोजना सञ्चालनमा ल्याउन लागिएको हो ।
विसं २०७४ चैतमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाबाट ताकमको ३, ४, ५, ६ र ९ नं वडाका ३५६ घरधुरी लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष देवबहादुर थापाले बताउनुभयो ।
यसैगरी खानेपानी तथा सरसफाइ सवडिजिभन कार्यालयले ७ र ८ नं वडाका लागि यस वर्ष रु ७० लाखको ताकम खानेपानी आयोजना सञ्चालन गरेको छ ।
वडा नं १ र २ मा पर्ने धारापानीमा पनि यस वर्षदेखि नयाँ आयोजना सञ्चालन हुने कार्यालयले जनाएको छ । आगामी वर्ष सम्पन्न गर्ने लक्ष्य राखिएको तीनवटै आयोजनामार्फत मिटरसहितको निजी धाराबाट खानेपानी वितरण हुने जनाइएको छ ।
पर्याप्त स्रोत र व्यवस्थित संरचनाको अभावमा खानेपानीको समस्या झेल्दै आएका ताकमका बासिन्दा छिटो आयोजना सम्पन्न गर्नका लागि श्रमदानमा जुटेका छन् । “एउटा घरबाट ६५ दिनका दरले श्रमदान गर्दैछौँ”, उपभोक्ता गोपाल आचार्यले भन्नुभयो –“खानेपानी अभावको समस्या समाधानका लागि आयोजना लक्ष्यअघि नै सम्पन्न गर्ने तयारीमा छाँै ।”
देवीस्थान र ताकम गाविसको सिमानामा पर्ने कोटखोला, देउबुजा र हटिमूलको मुहानबाट प्रतिसेकेन्ड चार लिटरका दरले पानी आपूर्ति गर्ने लक्ष्य रहेको कोतखोला तेस्रो आयोजनाको हालसम्म १५ प्रतिशतभन्दा बढी काम सकिसकेको छ । आयोजनाको १३ मध्ये सातवटा रिजर्भ टङ्की निर्माण र पाइपलाइन खन्ने काम तीव्र पारिएको परियोजनाका असिस्टेन्ट सवइञ्जिनियर यामबहादुर हर्मेलले बताउनुभयो । रासस