काठमाडौँ, २५ माघ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मुलुकमा हस्तकलाको क्षेत्रले महिला सशक्तीकरणको क्षेत्रमा योगदान पु¥याउने बताउनुभएको छ ।
महिला सीपमूलक उपभोक्ता समिति क्षेत्र नं ७ बालाजु निर्वाचन क्षेत्र विकास कोषद्वारा सञ्चालित १५ दिने मखमलको जुत्ता बनाउने तालिमको शुभारम्भ गर्दै पूर्वउपप्रधानमन्त्री सिंहले नगरभित्रका महिलाले फुर्सदको समय सीपमूलक व्यवसाय सञ्चालन गर्दा त्यसले उनीहरुको आर्थिक वृद्धि भई मुलुकको आर्थतन्त्र गतिशील बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नेता सिंहले हस्तकलाको स्वदेश तथा विदेशमा समेत राम्रो माग हुने गरेकाले त्यस्ता सामग्रीहरुको उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।
नेपाली काँग्रेसका नेताहरु विजय माली, मुकुन्द रिजाल, नेत्री प्रमीला सिंह र नेपाल महिला सङ्घकी सदस्य सरस्वती देवकोटाले हातले बनाएका विभिन्न सामग्रीका पारखी दिन प्रतिदिन बढ्दै गएकाले मखमलको जुत्ताको व्यावसायिक उत्पादन गर्न खाँचो रहेको औँल्याउनुभयो ।
समितिका अध्यक्ष मञ्जु श्रेष्ठले साना घरेलु उद्योग तथा हस्तकलाको विकासमा महिलाको विशेष भूमिका हुने हुँदा त्यसले महिलाको आर्थिक उन्नति भई सामाजिक रुपान्तरणमा सहयोग पुग्ने बताउनुभयो ।
दुई सातासम्म सञ्चालन हुने तालिममा १५ महिला सहभागी छन् । रासस