२०८३ भाद्र २७ शनिबार

तरकारी खेतीबाट आत्मनिर्भर बन्दै महिला

ई आर्थिक    सोमबार, माघ २४ २०७३
5.5K
Shares
तरकारी खेतीबाट आत्मनिर्भर बन्दै महिला

२४ माघ, काभ्रे । टुकुचा नाला– ७ घिमिरेगाउँकी २३ वर्षीया गीता घिमिरे विगत चार वर्षदेखि तरकारीखेती गर्दै आउनुभएको छ । अन्य पेसा भन्दा तरकारीखेतीबाट राम्रो आम्दानी भएको र यसबाटै आत्मनिर्भर भएको उहाँ बताउनुहुन्छ ।

“वार्षिक रु चार लाख बराबरको तरकारी बिक्री गर्दै आइरहेकी छु ।” कृषक घिमिरे भन्नुहुन्छ, “सात रोपनी जग्गामा तरकारीखेती गर्दै आएको छु यसबाट पाँच जनाको परिवारका लागि गर्जो टार्न र बचत गर्न निकै सहज भएको छ । ”

आफ्नो बारीमा काउली, गोडभँेंला, आलु, मटरकोसालगायतका तरकारी लगाउँदै आउनुभएकी घिमिरे सिँचाइको राम्रो सुविधा भएका कारण तरकारीखेती गर्न निकै सजिलो छ भन्नुहुन्छ ।
यस क्षेत्रमा पुरुषभन्दा महिला नै तरकारीखेतीमा ब्यस्त देखिन्छन् बारीमा कुलो नलाग्ने भएकाले पाइपबाटै पानी पटाउँदै गर्नुभएकी गीताको भनाइ छ– तरकारी उत्पादनबाट घरखर्च चलाएर पनि बचत समेत हुने गरेकाले अन्य क्षेत्रमा समेत लगानी गर्न पाएकी छु ।

घिमिरेजस्तै उक्त क्षेत्रका अन्य महिला तरकारी खेतीबाट आत्मनिर्भर बनेका छन् । छोराहरुले आ–आफ्नै पेसामा रमाएकाले आफू एक्लैले तरकारीखेती गर्दै आएको र यसबाटै परिवार चलाउन निकै सजिलो भएको अर्की स्थानीयवासी गोमा घिमिरे बताउनुहुन्छ ।

ढुवानीको सुविधा भएकाले यहाँका कृषकलाई बजारसम्म तरकारी लैजान निकै सजिलो भएकाले बनेपा तथा काठमाडौका बजारमा समेत यहाँका तरकारी निर्यात हुँदै आएको छ । केही वर्ष अघिसम्म यहाँको भिरालो जमिनमा ब्यावसायिक रुपले तरकारी खेती गर्ने कसैलाई चासो थिएन, तर बलौटे माटो, यातायातको सुविधा, सिंचाइको सहजताले दूधको ब्यापारका साथै तरकारीले प्रश्चय पाउन थालेको र अन्य ब्यावसाय भन्दा तरकारी खेतीमा लगानी कम पर्ने भएकाले पनि यसप्रति आकर्षण बढेको कृषक गोमाको भनाइ छ ।

आफूमा जागर भए जस्तोसुकै ठाउँमा पनि सुन फलाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका महिला पहिले कर्जा लिने गरेकामा अहिले अरुलाई कर्जा दिन सक्ने भएकोे कृषक दुर्गा घिमिरेको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij