२०८३ भाद्र २६ शुक्रबार

तीन तहको निर्वाचन गरेमात्र प्रजातन्त्र बलियो हुन्छ- सभापति देउवा

ई आर्थिक    बिहिबार, माघ २० २०७३
8.4K
Shares
तीन तहको निर्वाचन गरेमात्र प्रजातन्त्र बलियो हुन्छ- सभापति देउवा

२० माघ, काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा तीन तहको निर्वाचन गराइए मात्र प्रजातन्त्र बलियो हुने बताउनुभएको छ ।

प्रजातान्त्रिक विचार समाजद्वारा प्रकाशित पुस्तक ‘चिन्तन’को आज यहाँ लोकार्पण गर्दै सभापति देउवाले सबै दललाई मिलाएर तीन तहको निर्वाचन गराइए मात्र प्रजातन्त्र बलियो हुने बताउनुभएको हो । उहाँले भन्नुभयो, “सम्पूर्ण देशलाई मिलाउने जिम्मेवारी काँग्रेसको काँधमा रहेको छ ।”

पूर्व प्रधानमन्त्री देउवाले मधेसी दलकोे भावनालाई समेट्नका लागि संशोधन प्रस्ताव दर्ता भएको र यसलाई पारित गर्न नेकपा (एमाले)ले समेत सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले संविधान कार्यान्वयन भएमात्र मुलुक आर्थिक रुपमा अगाडि बढ्ने भएकाले संविधान कार्यान्वयनका लागि सबै दल एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

मुलुकका सबै दल प्रजातान्त्रिक पद्धतिमा आइसके पनि पूर्ण प्रजातान्त्रिक हुन नसकेको उहाँको भनाइ थियो । उहाँले नेपालमा भएका प्रजातान्त्रिक उपलब्धिलाई जनतामाझ चिनाउन प्रजातान्त्रिक विचार समाजको ठूलो योगदान रहेको उल्लेख गर्नुभयो ।

kc2

सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले केही दिनमै स्थानीय निकायको निर्वाचन गर्ने तयारीका साथ सरकार लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधान कार्यान्वयनका लागि संविधान निर्माण गरेका शक्तिहरु एक हुनुपर्छ ।”

मन्त्री केसीले भारतमा संविधान निर्माण भएपछि अहिलेसम्म १३१ पटक संशोधन भइसकेको उदाहरण दिँदै नेपालको संविधान संशोधन गर्नु हुँदैन भन्ने हठ त्याग्न प्रमुख प्रतिपक्षी दललाई आग्रह गर्नुभयो ।

पुस्तकका टिप्पणीकार एवम् काँग्रेसका नेता शोभाकर पराजुलीले नेपाली काँग्रेसले पछ्याएको बाटोलाई पुस्तकले समेटेको बताउँदै उक्त पुस्तक नेपाली काँग्रेस पार्टीकै दस्तावेज बन्नसक्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “काँग्रेसले पार्टीभित्र निष्ठा राख्ने र पार्टीलाई योगदान गरेका व्यक्तिलाई पाखा लगाउने प्रवृत्ति बढेको छ त्यो गलत हो ।”

टिप्पणीकार एवम् नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष धर्मेन्द्र झाले पुस्तकले पुरानो पुस्तादेखि नयाँ पुस्ताका लेखकको विचार समेटेकाले पठनीय रहेको बताउनुभयो । उहाँले पार्टीभित्र देखिएको गुटउपगुटको राजनीतिलाई पुस्तकले राम्रोसँग केलाएको उल्लेख गर्नुभयो ।

समाजका अध्यक्ष डा केदारनरसिंह केसीले काँग्रेसले पटकपटक गरेका आन्दोलन स्थायी हुन नसक्नु काँग्रेसको कमजोरी भएको बताउनुभयो ।

समाजले नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्नुभएका विश्वेश्वरप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहको स्मृतिमा विशेषाङ्क निकालिसकेको छ । समाजका महासचिव गोकर्ण अर्यालका अनुसार समाजले ४० भन्दा बढी जिल्लामा सङ्गठन विस्तार गरिसकेकोे छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij