२० माघ, काठमाडौं । नेपाल प्रहरीमा २ हजार भन्दा बढीको संख्यामा जागिर खुलेको छ ।
प्रहरी प्रधान कार्यालयले विहिबार सार्वजनिक सूचना जारी गर्दै जनपदतर्फ १ हजार ६ सय ४५ जना र प्राविधिकतर्फ एक हजार ३३ जना गरी २ हजार ६ सय ७८ प्रहरी जवानका लागि आवेदन आह्वान गरेको हो ।
प्रविधिक समूहअन्तर्गत मेकानिकल इन्जिनियर तथा सवारी, मेकानिकल विपद व्यवस्थापन, स्वास्थ्य, सञ्चार र संगीतका लागि योग्यता पुगेका उम्मेदवारले दरखास्त दिन आहृवान गरिएको छ ।
त्यस्तै आवास तथा भौतिक इन्जिनियरिङ, सूचना प्रविधि, कुकुर स्कुल, विधि विज्ञान र हातहतियारसम्बन्धी प्राविधिकका लागि पनि दरखास्त आहृवान गरिएको छ । सबैभन्दा धेरै सञ्चार प्राविधिकका लागि ७ सय १८ जनाका लागि र सबैभन्दा कम हातहतियार प्राविधिक ५ पदका लागि दरखास्त माग गरिएको छ ।
प्रहरीको मानवश्रोत विकास विभाग तथा भर्ना छनौट शाखाका अनुसार फागुन १ गतेदेखि ३० गतेसम्म दरखास्त दिन सकिनेछ ।