२०८३ भाद्र २८ आइतबार

तीन करोडमा माईखोलामा पक्की पुल बन्ने

ई आर्थिक    बिहिबार, माघ ६ २०७३
4.4K
Shares
तीन करोडमा माईखोलामा पक्की पुल बन्ने

६ माघ, इलाम । अस्थायी काठको पुलबाट खोला वारपार गर्दै आएको जमुना र सुलुबुङ बीचको माईखोलामा पक्की पुल बन्ने भएको छ । स्थानीय विकास मन्त्रालयको डोलिडार कार्यक्रममार्फत रु तीन करोड १७ लाखको लागतमा पक्की पुल बन्ने भएको हो ।

करिब डेढ दशकदेखि स्थानीय प्रयासमा सडकको ट्र्याक खोलेर सवारी आवागमन हुँदै आए पनि पक्की पुल नहुँदा स्थानीयवासीले सास्ती बेहोर्दै आएका थिए । स्थानीयवासीले खोलाको दुवैतर्फ पर्खाल लगाएर काठको मुडा तेर्साउँदै सवारी आउजाउ गर्ने व्यवस्था मिलाएका छन् । माग गरेको लामो समयपछि यो पटक भने पुल बन्ने पक्का भयो ।

खोला वारिपारि दुवै तर्फको एप्रोच रोड पनि बन्ने भएको छ । योसहित मेची राजमार्गको राजदुवालीमाथि बनिसकेका र बन्दै गरेका पक्की पुलको सङ्ख्या सात हुने भएको छ । सुम्वेकसँग जोडिएको प्याङमा भने अझै पक्की पुल बन्ने निश्चित छैन ।

जमुना, सुलुबुङ, प्याङ र मावुवासीसमेत लाभान्वित हुने उक्त पुल निर्माणपछि त्यस क्षेत्रका पर्यटकीयस्थलमा पनि पर्यटक पुग्न सक्ने स्थानीयवासीले आशा गरेका छन् । त्यस क्षेत्रमा रहेका ढापपोखरी, हाँगेथाम, चोयाटार, थुम्के, जौवारीलगायत पर्यटकीय क्षेत्रमा पुग्न यो पुल भएर सहज हुने स्थानीयवासी बताउँछन् । स्थानीयवासीले निर्धारित समयमा पुल निर्माण सक्न र गुणस्तरीय बनाउन ध्यान दिन सम्बन्धित निकायसँग आग्रह गरेका छन् । स्थानीय प्रशासनले कच्ची पुलबाट सवारी चलाएको थाहा पाएपछि तत्काल सवारी आवागमन रोक्न निर्देशन दिएको थियो ।

“पुरानो पुललाई पनि व्यवस्थित गरेर नयाँ नबनुन्जेल काम चलाउने योजना छ,” जिल्ला प्राविधिक कार्यालयका प्रमुख ओमराज ढुङ्गानाले भन्नुभयो, “खोला वारिपारिको अप्ठेरो भूभागको सडक पनि खोलिनेछ ।” त्यस क्षेत्रको बाटो जोखिम रहेकाले दुर्घटनासमेत हुने गरेको छ । बर्सेनि बाढीले पुल र पर्खाल बगाउने गरेकाले स्थानीय स्रोतसँगै गाविसले पनि ठूलो रकम खर्चनुपर्ने बाध्यता छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij