३ माघ, काठमाडौं । लमजुङको बाहुनडाँडास्थित न्यादी खोलामा निर्माण गर्न लागिएको ३० मेगावाट क्षमताको आयोजनाको भौतिक निर्माणका लागि न्यादी हाइड्रोपावर लिमिटेड र चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एण्ड इन्स्टलेसन कम्पनी बीच आज ठेक्का सम्झौता भएको छ ।
सम्झौतामा कम्पनीका तर्फबाट अध्यक्ष राजीव राजभण्डारी तथा ठेकेदारका तर्फबाट अध्यक्ष लिऊ कोछिङ्गले हस्ताक्षर गर्नुभयो ।
आयोजनाको निर्माण यही माघको अन्तिम सातादेखि सुरु हुनेछ र निर्माण अवधि तीन वर्षको हुनेछ । कम्पनीका अनुसार आयोजना सन् २०२० को अप्रिल महिनाभित्रै सम्पन्न भई संचालनमा आउनेछ। आयोजनामा एभरेस्ट बैंकको नेतृत्वमा नबिल बैंक, ग्लोबल आइएमइ बैंक, हिमालयन बैंक, सनराइज बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनीको लगानी रहेको छ ।
यस आयोजनाका लागि जग्गा खरिदको कार्य, पहुँचमार्गको निर्माण, विद्युत्खरिद बिक्री सम्झौता, सुपरीवेक्षण परामर्शदाताको नियुक्ति र वित्तीय व्यवस्थापनको कार्य सम्पन्न भइसकेको छ । यो नदीको वहावमा आधारित आयोजना हो । आयोजनाबाट वार्षिक १६८ गिगावाट आवर विद्युत् उत्पादन गरी नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरिनेछ ।