२०८३ भाद्र २६ शुक्रबार

आर्थिक प्रगतिले नै समाजको मतभेद अन्त्य गर्छ: डा महत

ई आर्थिक    मंगलबार, माघ १८ २०७३
6.9K
Shares
आर्थिक प्रगतिले नै समाजको मतभेद अन्त्य गर्छ: डा महत

१८ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा रामशरण महतले अहिले विकासको युग भएकोले आपसी असहमति, मतभेद र राजनीतिक पूर्वाग्रहबाट बाहिर निस्किएर समुन्नतिको बाटोमा एकोहोरिएर लाग्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

तामाङहरुको नयाँ बर्ष सोनामा ल्होच्छारको उपलक्ष्यमा शुभकामना दिन नुवाकोट क्षेत्र नं २ को लच्याङमा पुग्नुभएका डा महतले आर्थिक प्रगति भै जनताको जीवनस्तर माथि उठेपछि असहमति र मतभेदहरु पनि स्वतः हटेर जाने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,”आर्थिक प्रगतिका लागि आर्थिक एजेण्डालाई नै प्राथमिकतामा राख्नुपर्छ । हरेक समय आर्थिक विकास र प्रगति कसरी गर्ने भनेर सोच्नुपर्छ र काममा खरोरुपमा उत्रिनुपर्छ ।”

कांग्रेसको सरकारले गाउँ गाउँसम्म विकास पु-याएको उल्लेख गर्दै उहाँले विकासको प्रमुख पूर्वाधार बाटो भएको र पञ्चायतको उत्तराद्र्धमा १६ हजार किमी मोटरबाटो बनेकोमा अहिले झण्डै ७० हजार किमी निर्माण भैसकेको जानकारी दिनुभयो ।

उल्लेख्य मात्रामा मोटरबाटो निर्माणका साथै हिंसात्मक द्वन्द्व र राजनीतिक अस्थिरताका बीच पनि आर्थिक सामाजिक क्षेत्रमा नेपालले सन्तोषजनक प्रगति गरेको कांग्रेसको नीति र प्रतिवद्धताका कारणले नै हो, उहाँको भनाई थियो । डा महतले नर्जादेखि लच्याङसम्म मोटरबाटो बनिरहेकोले त्यसलाई गुणस्तरीय बनाउन र छिटो सम्पन्न गर्न जनताले निगरानी गरिरहनुपर्नेमा जोड दिनुभयो । उहाँले लच्याङमा थप विकासका कार्यक्रमहरु ल्याउन आफू प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो ।

नेपाल एक जातिको मात्र मुलुक होइन । उहाँले भन्नुभयो, बहुभाषिक र बहुसांस्कृतिक मुलुक नेपालमा सबै जातजातिले समानरुपमा प्रगति गर्ने र अवसर पाउने संवैधानिक व्यवस्था गरिएको छ । पहिचान सांस्कृतिक सम्पत्ति भएको र यसको व्यवस्थाले तामाङ जातिलाई सांस्कृतिकरुपले अझ धनी बनाउने छ । नयाँबर्षको शुभकामना दिदै उहाँले तामाङ जातिले शिक्षामा जोड दिनुपर्ने आवश्यकता औल्याउनुभयो ।

तामाङ जातिको पहिचानलाई स्थापित गर्न स्व गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारले ल्होच्छारमा विदा दिने निर्णय गरेको स्मरण पनि उहाँले गर्नुभयो । मञ्जुश्री सम्वत २८५३ को उपलक्ष्यमा लच्याङ युवा समाजले आयोजना गरेको सो कार्यक्रममा रमेशकुमार महत, सन्तमान तामााङ, शरण घले, सुमन गिरी लगायतले शुभकामना दिनुभएको थियो । कार्यक्रममा तामााङ संस्कृति र परम्परालाई झल्काउने विभिन्न झाँकीहरु प्रस्तुत गरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij