६ माघ, काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको हकप्रद शेयरका लागि आवेदन आजबाट खुल्ला भएको छ। फाइनान्सले पूँजी वृद्धि योजना अन्तर्गत एक सय ७५ प्रतिशत हकप्रद जारी गरेको हो । कम्पनीको हकप्रदमा पुस ९ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । हकप्रद निष्काशन फागुन ११ गते बन्द हुनेछ ।
फाइनान्सले २५ करोड ६ लाख ५० हजार रुपैयाँ बराबरको ४३ लाख ८६ हजार तीन सय ७५ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । जसमा पुस ९ गतेसम्म दोस्रो बजारबाट शेयर किनेका र साबिक शेयरधनीले हकप्रद भर्न पाउने छन्। कम्पनीले १०० कित्ता हुनेलाई १७५ कित्ता हकप्रद दिन लागेको हो।
फाईनाइन्सको सेयर निष्काशन तथा विक्रि प्रबन्धक एस क्यापिटल रहेको छ । लगानीकर्ताले क्यापिटलको कार्यालयका साथै एस डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखाहरू, मन्जुश्री फाइनान्सको सबै शाखा कार्यालय, त्रिवेणी विकास बैंकको पाल्पा, बेशीसहर, पनौती, इटहरी र भकुण्डेबेसी शाखाबाट आवेदन गर्न सक्ने छन् । त्यस्तै गरिमा विकास बैंकको पोखरा, बाग्लुङ, बेनी र मुग्लिङ शाखा तथा महाकाली विकास बैंकको महेन्द्रनगर शाखा मार्फत समेत हकप्रदमा आवेदन गर्न सकिने एस क्यापिटलले जनाएको छ ।