समयको सुईले मंसिर, पुस भन्दै चैत्रतिर देखाइरहदा मुलुकको आर्थिक समृद्धिको नेतृत्वकर्ता संस्थाले नयाँ नेतृत्व पाउँदैछ । हरेक संस्थामा नेतृत्व परिबर्तन नियमित प्रक्रियाअन्तर्गत रहन्छ । तर नेपाल उद्योग बाणिज्य महासंघको यसपाली आउने नेतृत्वका कारण मुलुकमा नयाँ बहस पुनः सुरु भएको छ । किनभने प्रमुख पदहरुमा धमाधम महिलाले नेतृत्व लिन थालेपछि मुलुकमा बिकास निर्माण र समृद्धिको बहसले नयाँ मोड लिन थालेको छ ।
महिलाले नेतृत्व गरेका संस्थाहरु तुलनात्मक हिसाबले राम्रो उन्नति र प्रगति गरिरहेको सन्दर्भमा मुलुकका प्रमुख कार्यकारी पदहरु र महत्वपूर्ण सार्बजनिक निकायमा समेत महिला नेतृत्व पुग्न थालेपछि समग्र मुलुकको भबिश्यप्रति एक किसिमको आशा पलाउन थालेको देखिन्छ । त्यसो त अहिलको मुलुकको अहम मुद्धा आर्थिक समृद्धिको छ । मुलुकमा लोकतान्त्रिक गणतन्त्र आएपछि राजनीतिक क्रान्ति सम्पन्न भएकाले त्यसलाई संस्थागत गर्न आर्थिक क्रान्ति अनिबार्य शर्त हो । यो कुरालाई राजनीतिक नेत्तृत्वले स्वीकार गरेको पनि छ । त्यसैले बिकास निर्माण र आर्थिक समृद्धिको एजेण्डा राष्ट्रको मुल एजेण्डा बनेको छ । यो ऐतिहासिक जिम्मेवारीलाई बहन गर्ने स्थानमा अहिले महिला पुगेका छन् र पुग्ने क्रममा छन् ।
१३ प्रतिस्पर्धीलाई पछि पार्दै गएको असोजमा कामिनी राजभण्डारी दूरसंचार सेवा प्रदायक कम्पनीको क्षेत्रमै नयाँ इतिहास रच्दै नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदमा पुगेपछि महिला नेतृत्वको थप चर्चा भइरहेको छ । उनी नेपाल टेलिकम वा अन्य कुनै दूरसंचार सेवा प्रदायक कम्पनीको व्यवस्थापन तहको नेतृत्व गर्ने पदमा पुगेकी पहिलो महिला हुन । नेपाल टेलिकमको नयाँ प्रबन्ध निर्देशकका लागि तत्कालीन प्रबन्ध निर्देशक बुद्धि आचार्यसहित १३ जनाले आवेदन दिएका थिए । आवेदकमा राजभण्डारी एक्ली महिला उम्मेद्वार थिइन । टेलिकमले वार्षिक १० अर्बभन्दा बढी नाफा आर्जन गर्छ । सेवा प्रवेशको ३१ वर्षपछि प्रमुख पदमा पुगेकी उनले टेलिकमभित्र विभिन्न विभागीय प्रमुखको जिम्मेवारी सम्महालिसकेकी छिन । १ असोज ०४२ मा इन्जिनियरका रूपमा तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा प्रवेश गरेकी कामिनी २९ माघ ०७२ देखि प्रमुख प्राविधिक अधिकृतका रूपमा कार्यरत थिइन् ।
उनले अब टेलिकमका ४ हजारभन्दा बढी कर्मचारी डेढ करोड ग्राहकको नेत्तृत्व गर्नुपर्ने छ । अहिले डाटा र भ्वाइस दुवैमा एक नम्बरमा रहेको कम्पनीलाई बिभिन्न स्वार्थको सामना गर्दै टेलिकमलाई सधैँ एक नम्बरमा राख्नुपर्ने सबैभन्दा ठूलो चुनौती छ । अहिले नै १ करोड ५० लाख ग्राहक रहेका टेलिकममा यो आवभित्र २६ लाखभन्दा बढी ग्राहक थपिनेछन । यसका लागि अल्पकालिन र दीर्घकालीन योजना बनाएर अघि बढ्नु पर्ने छ । जनसंख्याको आधाभन्दा बढीलाई सेवा दिइरहेको टेलिकमले अब आउने दिनमा यसलाई कायम गर्ने मात्रै होइन, बढाउँदै लैजानु पर्ने चुनौती छ ।
टेलिकममा चुनौती नै चुनौतीका डंगुर छन् । ६–६ महिनामै प्रविधि परिवर्तन भइदिन्छ । एउटा प्रविधि जडान गरी राम्रोसँग सञ्चालन गर्न नपाई परिवर्तन भइदिन्छ । यो ठूलो चुनौती हो । विभिन्न प्रविधिका सेवा दिइने गरिएको छ । त्यसको व्यवस्थापन गर्न सजिलो छैन । पैसा कमाउने मात्रै उद्देश्यले लिनु हुदैन । मुख्यगरी आजको युगमा जनतालाई सूचना तथा सञ्चारको नयाँ प्रविधिमा जोड्नु पर्ने छ । मुलुकको मूल एजेण्डा बनेको सामाजिक तथा आर्थिक विकासमा पनि यो कम्पनीले सबैभन्दा महत्वपूर्ण सहयोग पुरयाउनु पर्ने छ । त्यसैले गाउँ–गाउँमा समेत सेवा दिन सक्षम हुनुपर्छ । जनतालाई जति सेवा दियो त्यति नै बढी चाहन्छन् । गुणस्तरलाई समेत कायम गर्नुपर्नेछ । पुरानो प्रविधिलाई तीब्र गतिमा विस्थापन गर्नुपर्ने छ । भ्यालुएडिसन सर्भिस सुरु गर्नुपर्ने हुन्छ । मुलुकको सार्वजनिक खरिद ऐनले काम गर्न अप्ठ्यारो छ । सेवा प्रदायकबीच प्रतिस्पर्धा चर्को छ । प्रविधि मात्रै ल्याएर भएन त्यसको व्यवस्थापन र सुरक्षा गर्नु चुनौतीपूर्ण छ । विभिन्नखाले एप्स र सामाजिक सञ्जालले निःशुल्क भ्वाइस कलको सुविधासमेत ल्याइसकेका छन् । यि सबै चुनौतीको सामना गर्न उनी सक्षम हुन्छिन भन्ने बिश्वास गरिएको छ । किनभने महिलाहरु इमानदार, लगनशील र कर्मठ त हुन्छन नै साथै नाजायज दबाब तथा लाभका पछि नगाग्ने स्वभाबका पनि हुन्छन् ।
महत्वपूर्ण संस्थाको नेत्तत्वमा पुग्ने पाइपलाइनमा रहेकी अर्की महिला भवानी राणा हुन । उनी आगामी चैतदेखि निजी क्षेत्रको छाता संस्था रहेको नेपाल उद्योग बाणिज्य महासंघको नेतृत्वमा पुग्ने निश्चित छ । अहिले वरिष्ठ उपाध्यक्ष रहेकी राणा महासंघको विषेश साधारणसभाले विधान संसोधन गरेपछि स्वतः अध्यक्ष बन्ने भएकी हुन । आउँदो चैत २६ मा हुने साधारणसभाले बिधानको नयाँ व्यवस्था अनुसार नेतृत्व चुन्ने छ । जसमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान रहेको छ । यसबाट राणा निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन हाँक्ने पहिलो नेतृ बन्ने भएकी छिन । जिल्ला नगर समुहबाट महासंघको राजनीतिमा प्रवेश गरेकी उनी उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्ष बनेकी हुन् । महासंघको अघिल्लो कार्यकालमा उनले जिल्ला नगर समुहबाट उपाध्यक्ष जितेकी थिइन । महासंघको अध्यक्षमा निर्वाचित प्रदिपजंग पाण्डे पुरानो भ्रष्टाचार मुद्दामा जेल गएपछि अध्यक्ष भएका वरिष्ठ उपाध्यक्ष मुरारकाको स्थानमा भवानी चयन भएकी थिइन ।
त्यसो त संविधान जारी भएसंगै सरकारका प्रमुख अंगहरुमा महिलाको नेत्तृव रहेको छ । २०७२ साल कात्तिक ३ गते मुलुकले सर्वोच्च पद राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई पायो । निरङकुश राजतन्त्र र सदियौंदेखि लादिएको पुरातन पुरुषप्रधान समाजको जालोलाई चुनौती दिदै उनी सानैदेखि कम्युनिष्ट राजनीतिमा आकर्षित भएकी थिइन् । केन्द्रीकृत निरंकुश राजतन्त्र, महिलालाई चुल्होचौकाको सीमित घेरामा राखिएको तत्कालिन समाज र परिवारका सबै सदस्यहरु कांग्रेसी राजनीतिमा सक्रिय रहेको अवस्थामा उनी कम्युनिष्ट राजनीतिमा लागेकी थिइन । मुलुकले आर्थिक समृद्धिको परिकल्पना गरिरहेको सन्दर्भमा कार्यपालिकालाई झक्झक्याउने काम उनले गरिरहेकी छिन ।
समाजमा व्याप्त असमानता, सामन्ति उत्पीडन र शोषणविरुद्ध सानैदेखि विद्यार्थी राजनीतिमा सक्रिय ओनसरी घर्ती २०७२ साल आश्विन २९ गते व्यवस्थापिका संसदबाट सभामुखमा बनिन् । २०५२ सालमा तत्कालिन माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धमा होमिएकी घर्ती अघिल्लो संविधानसभामा युवा तथा खेलकुद मन्त्री थिइन् । संविधानसभाबाट संविधान जारी गर्नु अघिसम्म उपाध्यक्षको भूमिकामा रहेकी उनी संविधान जारीपछि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो सभामुख बन्न सफल भइन् । मुलुकको समृद्धिको मार्गचित्र कोर्ने ठाउँको नेतृत्व गरिरहेकी उनी तत्अनुरुपको कानुन निर्माणमा क्रियाशील छिन् ।
आर्थिक बिकासको सबैभन्दा ठूलो शत्रु भ्रष्टाचारबिरुद्ध खरो उत्रने सुशीला कार्की नेपालको इतिहासमा पहिलोपटक प्रधानन्यायधीश पद सम्हालिरहेकी छिन् । तत्कालिन अवस्थामा औंलामा गन्न सकिने महिलाहरुले मात्र लुकिछिपि या घरमै बसेर स्वअध्ययन गरेको पाइन्छ । तर, कार्की पढाइमा पनि फरक धार कानून विषय लिएर मुलुकको सर्वोच्च निकायमा पुग्न सफल भइन् । जुन इतिहासमा विरलै हुने घटना हुन् ।
कार्की त्यस्ती एक्ली बृहस्पति हुन् जो शुरुदेखि अदालतको उच्च तहसम्म एक्लै संघर्ष गर्दै सफलताको शिखर चुम्न सफल भइन् । २०३५ साल चैत्र १६ बाट वकालतमा प्रवेश भएकी कार्की ०४३ देखि ६१ सम्म महेन्द्र मोरङ क्याम्पसमा प्राध्यापक थिइन् । २०६७ सालमा सर्वोच्च अदालतको स्थायी न्यायाधीश बन्न सफल उनी बहालवाला मन्त्री जयप्रकाश गुप्ता, खुमबहादुर खड्का, चिरन्जीवि वाग्ले, गोविन्दराज जोशी लगायताका ठूलाठूला भ्रष्टाचार सम्बन्धी मुद्दाको फैसलाबाट चर्चित रहिन । उनको नेत्तृत्वमा न्यायलय पुगेपछि भ्रष्टाचारीहरुको सातो उडेको अबस्था छ, अहिले ।
विभिन्न चुनौति र विभेदका बावजुद पनि महिला राज्यको उच्च तहमा पुग्नु गौरवको कुरा हो । यसले अबका दिनमा महिलाले नेतृत्वमा समाज रुपान्तरित हुने सम्भावना पनि देखाएको छ । देश विकासका विविध आकांक्षा पूरा गर्ने कार्यमा महिला नेतृत्वबाट ठूलो अपेक्षा पनि गरिएको छ ।