२०८३ असोज २ शुक्रबार

साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त एक आपसमा मर्ज हुने

ई आर्थिक    आइतबार, असोज २ २०७९
16K
Shares
साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त एक आपसमा मर्ज हुने

ई–आर्थिक, काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्था गाभिने भएका छन् । एक आपसमा गाभिने ति दुवै संस्थाले छिट्टै साधारणसभा गरी पुससम्म एकीकृत साधारणसभा गर्ने भएका छन् । मर्जरका लागि साना किसानका तर्फबाट उमेश लम्साल र आरएमडीसीका तर्फबाट भुपेश छट्कुलीले हस्ताक्षर गरेका छन् ।

एकीकृत साधारणसभापछि साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्था हुने भएको छ । संस्थाको अध्यक्षमा साना किसानका अध्यक्ष खेमबहादुर पाठक रहनेछन् । एकीकृत संस्थाको प्रमुख कार्यकारी अधिकृतमा साना किसानकै प्रमुख कार्यकारी अधिकृत शिवराम कोइराला रहनेछन् । संस्थाको सञ्चालक समितिमा दुवै तर्फका तीन/तीन जना रहनेछन् ।

सञ्चालक समितिमा दुवैतर्फबाट सर्वसाधारण समूहबाट एकएक जना सञ्चालक समितिमा रहनेछन् । मर्जरका लागि सेयर आदान प्रदान अनुपात १००ः८७ हुनेछ । साना किसानको सेयरको हिस्सा १०० हुँदा आरएमडीसीको ८७ हुनेछ ।

आरएमडीसीका प्रमुख कार्यकारी अधिकृत एकीकृत संस्थाको डेपुटी सीईओ हुनेछन् । आपसी सहमतिमा कर्मचारी व्यवस्थापन हुनेछ । मर्जरपश्चात एक सबल र सक्षम लघुवित्त भई उन्नत स्तरको वित्तीय सेवा प्रदान गर्न अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा स्थानीय पहुँच, अनुभव र क्षमतालाई अझ प्रभावकारी बनाइ लक्षित वर्गको सेवामा खरो प्रतिष्पर्धामा उत्रन सहज हुने जनाइएको छ ।

मर्जरपछि एकीकृत संस्थाको कुल सम्पत्ति ४३ अर्ब २२ करोड हुनेछ । साना किसानको ३० अर्ब ७६ करोड र आरएमडीसीको १२ अर्ब ४६ करोड छ । साना किसानको ३० अर्ब २ करोड र आरएमडीसीको ११ अर्ब ८४ करोड ऋण लगानीमा रहेकोमा अब ४१ अर्ब ८६ हुनेछ । साना किसानको ४ अर्ब १६ करोड र आरएमडीसीको ३ अर्ब ३३ करोड कुल पुँजी रहेकोमा अब ७ अर्ब ५० करोेड पुग्नेछ ।

आरएमडीसीको १ अर्ब २४ करोड र साना किसानको १ अर्ब ५६ करोड चुक्तापुँजी रहेकोमा एकीकृत संस्थाको चुक्तापुँजी २ अर्ब ८० करोड हुनेछ । शाखा कार्यालय अब १३ पुग्नेछन् । साना किसानको ११ वटा र आरएमडीसीको २ वटा शाखा छन् । यी दुवै संस्थाले साझेदार संस्थालाई ऋण प्रदान गर्छन् । साना किसानको १ हजार ३ सय ९ वटा र आरएमडीसीका ३ सय १५ वटा साझेदार संस्था रहेकोमा अब १ हजार ६ सय २४ वटा हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij