शंकर भण्डारी
गएको शुक्रबार नेपाली कांग्रेसको तर्फबाट बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेश सभामा प्रधानमन्त्रीको विरुद्धमा व्यक्त गरेको आपत्तिजनक अभिव्यक्तिको निकै चर्चा भयो । वैद्यले दिएको अभिव्यक्ति सभ्य समाजमा कदापी स्वीकार्य हुन सक्दैन । नेपाली कांग्रेसले उक्त अभिव्यक्तिलाई कुनै पनि हालतमा स्वीकार्न नसक्ने जनाउँदै तत्काल आत्मालोचना गरी उक्त अभिव्यक्ति फिर्ता लिननिर्देशन दियो ।
शान्ति, अहिंसा र लोकतन्त्रप्रति प्रतिवद्ध नेपाली कांग्रेसबाट दिक्षित इमान्दार कार्यकर्ता भएकाले उनले पार्टीको निर्देशन बमोजिम तत्काल विना संकोच आफ्नो गल्तीलाई स्वीकार गरी प्रदेश सभामा स्वयंले आत्म आलोचना गरेको र उक्त गलत विचार रेकर्डबाट हटाउन सभामुख समक्ष अनुरोध गरेका थिए । भावनात्मक उत्तेजनामा आएर दिएको अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गरेपछि पनि उनका विरुद्धमा कारबाहीको लागि किटानी जाहेरी दिनु भनेको अनावश्यक प्रतिशोध साँध्नखोज्नु वा संयमता गुमाएका अनुदार जमातको अतिवाद भन्दा केही हुन सक्दैन । नरोत्तम वैद्यले गल्ती स्वीकार गर्दा पनि किटानी जाहेरी दिन सक्रिय हुने साथीहरुको दोहोरो मापदण्डका प्रति मेरो ध्यानआकर्षित भएको छ ।
वैद्यको अभिव्यक्तिको चर्चा हुँदै गर्दा प्रधानमन्त्रीले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा.श्रीकृष्ण गिरीलाई बालुवाटारमा दिएको धम्की तथा दबाबको समीक्षा कसरी गर्ने हो ?कानुनत अनुमति दिन नसक्ने अवस्थाको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन कम्मर कसेर लाग्नुलाई कुन रुपमा लिने हो ?
प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको व्यक्तिले सारा विधि र पद्धतिलाई तिलाञ्जली दिएर केही व्यवसायीको व्यक्तिगत लाभका लागि मरिहत्ते गर्नुको पछाडिको रहस्य के हो ?प्रधानमन्त्रीले एक स्वायत्त र व्यवसायिकनिकायलाई सहजताका साथ काम गर्ने वातावरण दिनुको साटो समितिका पदाधिकारीलाई धम्काएर, थर्काएर तथा बाध्यबनाएर गैरकानुनी कार्य गर्न दुरुत्साहन गर्ने कार्यलाई के भन्ने हो ?
शिक्षामन्त्री र स्वास्थ्यमन्त्री समेत प्रधानमन्त्रीको गलत कदमलाई पूर्णता दिन लाग्नुलाई कुन रुप मालिने हो ?वैद्यलाई माफि समेत नदिनेहरु विधि, पद्धति र कानुन मिच्न बाध्य पार्न खोज्ने प्रधानमन्त्री र मन्त्रीहरुका विरुद्धमा कारबाहीको लागिजान सक्लान ?
वैद्यको विरुद्ध लाग्नेहरुको विवेकले प्रधानमन्त्री र मन्त्रीहरुले गरेका गम्भीर गल्तीमा आत्म आलोचना गर्ने माग गर्न सक्छन्?नरोत्तम वैद्य कांग्रस समर्थित भएकाले मात्र धम्काउन खोजिएको हो भने त्यस्तो दुश्साहसन गर्न र विवेक नगुमाउन सरकार समर्थित मित्रहरुलाई हामी विनम्र अनुरोध गर्दछौ ।
यस्तो दोहारो चरित्र प्रस्तुत हुनुले सरकार र सरकारका समर्थकहरुको अधिनायकवादी चरित्र छताछुल्ल भएको छ । देशको प्रधानमन्त्री जस्तो व्यक्ति सबैभन्दा बढी जिम्मेवार र नैतिकवान हुनुपर्नेमा विडम्बना नै भनांै वहाँ कुनै नियम कानुन नमान्ने संविधान भन्दा माथि भएको जस्तो गरी प्रस्तुतहुने र वहाँका समर्थकले त्यस्ता कार्यलाई पुरुषार्थ ठान्ने प्रवृति कानुनी शासनका लागि घातक सिद्ध हुनेछ ।
कुनै व्यक्तिको फाइदाका लागि चिकित्सा शिक्षा आयोगका पदाधिकारी माथि भएको ज्यादतीलाई तरुण विभागल गम्भीरताका साथ लिँदै र त्यस्ता कार्यप्रति असहमति जाहेर गर्दछ । यस्ता अराजक गतिविधि तत्काल बन्द गर्न समेत तरुण विभाग आव्हन गर्दछ ।
(भण्डारी नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं तरुण विभाग प्रमुख हुन् ।)