ई–आर्थिक, काठमाडौं। हिमालयन बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक रिपोर्ट सार्वजनिक गरेको छ । बैंकले यो त्रैमासमा १ अर्ब ७४ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। नाफा गत वर्षको तुलनामा ३७ करोड ५३ लाख अर्थात २७.४५ प्रतिशत बढी हो।
गत वर्ष बैंकले १ अर्ब ३६ करोड २७ लाख रुपैयाँ नाफा कमाएको थियो । पुस मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा ९२ करोड ९२ लाख रुपैयाँ रहेको छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा सुधार भएसँगै बैंकको नाफा बढेको हो। बैंकको खुद ब्याज आम्दानी ३.३९ प्रतिशत र सञ्चालन नाफा ८.५४ प्रतिशतले बढेको छ ।
नाफा बढेपछि बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ३२ रुपैयाँ २ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा ८ रुपैयाँ ८८ पैसा बढेर ४० रुपैयाँ ९० पैसा पुगेको छ।
बैंकको निक्षेप संकलन ६.२४ प्रतिशतले बढ्दा कर्जा लगानी भने १.१२ प्रतिशतले घटेको छ । गत वर्ष १.२५ प्रतिशत रहेको बैंकको खराब कर्जा थोरै बढेर १.२८% पुगेको छ । प्रतिसेयर आम्दानी पनि ८ रुपैयाँ ८८ पैसाले बढेर ४० रुपैयाँ ९० पैसा भएको छ ।
हाल हिमालयनको चुक्ता पुँजी ८ अर्ब ५२ करोड रुपैयाँ छ भने रिजर्भ कोषमा ६ अर्ब ११ करोड रुपैयाँ छ । बैंकले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर वितरण गरिसकेको छ । तर वित्तीय विवरणमा यसलाई पुँजीकरण भने गरेको छैन । तथापि, बोनसपछि यसको पुँजी ९ अर्ब ३७ करोड २२ लाख रुपैयाँ पुगेको छ ।