२०८३ भाद्र २९ सोमबार

अवैध तरिकाले अमेरिका पुर्‍याइएका बाह्राैँ शताब्दीका मूर्ति फिर्ता हुँदै

ई आर्थिक    बुधबार, फाल्गुन २३ २०७४
8.3K
Shares
अवैध तरिकाले अमेरिका पुर्‍याइएका बाह्राैँ शताब्दीका मूर्ति फिर्ता हुँदै
काठमाडौं । विभिन्न अवैधानिक माध्यमबाट अमेरिका ल्याइपुर्‍याइएका करीव ८०० वर्ष पुरानो मूर्ति नेपाल पठाइने भएको छ । अमेरिकाको न्यूयोर्कस्थित मेट्रोपोलिटन म्युजियम अफ आर्टमा प्रदर्शनीका लागि राखिएका दुई थान मूर्ति उक्त संग्रहालयले नेपाललाई हस्तान्तरण गर्न तत्परता देखाएको छ । सोसम्बन्धी सम्झौतामा सोमबार संग्रहालयका तर्फबाट अध्यक्ष डानियल एच विस र नेपालका तर्फबाट न्यूयोर्क्स्थित महावाणिज्यदूत मधुकुमार मरासिनीले हस्ताक्षर गरे ।

सन् १९८० का दशकमा नेपालबाट मूर्ति चोरी भएर विभिन्न बाटो हुँदै अमेरिका पुगेको थियो । चोरी भएका मूर्तिमा पाटनमा रहेको उमामहेश्वर र बुद्धको मूर्ति छन् । ती दुवै मूर्ति नेपाली प्रस्तरकलामा आधारित बाह्रौँ र तेह्रौँ शताब्दीमा निर्माण गरिएको बताइएको छ । संग्रहालयले चोरीको मूर्ति प्रदर्शनीमा राख्ने आफ्नो नीति नभएकाले हस्तान्तरणको प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।

सोमबार मूर्ति फिर्ता गर्न आयोजित हस्ताक्षर कार्यक्रममा अध्यक्ष विसले संग्रहालयमा अवैधानिक तरीकाले प्राप्त मूर्ति नरहून् भन्ने अभिप्रायले मूर्ति फिर्ता गर्न लागिएको बताए । महावाणिज्यदूत मरासिनीले पुरातात्विक महत्वका मूर्ति फिर्ता गराउन पहल गरेकामा संग्रहालयलाई धन्यवाद दिँदै यसले अवैधानिक तरीकाले मूर्तिको व्यापार गर्नेलाई निरुत्साहन गर्ने बताए ।

ती मूर्ति भन्सार मापदण्डको प्रक्रिया पूरा गरी अप्रिल(चैत–वैशाख)भित्र नेपाल पठाइसकिने योजनामा न्यूयोर्कस्थित कन्सुलर जनरलको कार्यालयले गृहकार्य गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij