२०८३ भाद्र ३० मंगलबार

मानव तस्करले लगेका नेपाली अफ्रिकामा अलपत्र, अस्ट्रेलिया पठाइदिने भन्दै करडौं ठग्ने एक मलेसियाली पक्राउ

ई आर्थिक    मंगलबार, भाद्र २७ २०७४
6.5K
Shares
मानव तस्करले लगेका नेपाली अफ्रिकामा अलपत्र, अस्ट्रेलिया पठाइदिने भन्दै करडौं ठग्ने एक मलेसियाली पक्राउ

२७ भदौ, काठमाडौं । मानव तस्करले युरोप र अमेरिका मात्र होइन, अफ्रिकामा समेत नेपाली लैजाने गरेको पाइएको छ।

दक्षिण अफ्रिकामा मानव तस्करी गरेको अभियोगमा महानगरीय अपराध महाशाखाको टोलीले बाग्लुङका सागर श्रीसलाई पक्राउ गरेको छ । ३७ बर्से श्रीसले आर्थिक प्रलोभन देखाएर भारत हुँदै दक्षिण अफ्रिका पुर्‍याउने गरेको प्रहरीको दाबी छ।

दक्षिण अफ्रिकामा अलपत्र परेका नेपाली युवा त्यहाँस्थित दूतावास र अपराध महाशाखाको वैदेशिक रोजगारी ठगी शाखाको पहलमा स्वदेश फर्किएपछि श्रीस समातिएका हुन् । प्रहरीका अनुसार तस्करीमा संलग्न नेपालीले भारत, दक्षिण अफ्रिकामा बसेर काम गर्ने गरेका छन् । इथियोपिया, मोजाम्बिक, स्वाजिल्यान्ड हुँदै दक्षिण अफ्रिका सीमामा पुगेका तीन जना नेपालीलाई दक्षिण अफ्रिकाको सुरक्षा निकायले नियन्त्रणमा लिएर १६ दिन हिरासतमा राखेको थियो।

प्रवेशाज्ञा (भिसा) विना नै दक्षिण अफ्रिका छिरेको पाइएपछि नेपाली युवा पक्राउ परेका थिए । प्रहरीका अनुसार पीडितले तस्करलाई जनही ६ लाख रुपैयाँ बुझाएका थिए । उनीहरूलाई दक्षिण अफ्रिकामा मासिक ६० हजार रुपैयाँ कमाइ हुने आश्वासान दिइएको थियो । नेपालबाट हिँडेपछि ७ दिन नयाँदिल्लीमा अड्किएका पीडित त्यसपछि ७ दिन लगाएर दक्षिण अफ्रिका छिरेका थिए।

पीडितको बयानका आधारमा दक्षिण अफ्रिकामा अझै धेरै नेपाली अलपत्र रहेको प्रहरीले जनाएको छ । यसअघि पनि अपराध महाशाखामा दक्षिण अफ्रिका पुर्‍याएर अलपत्र पारेको भन्दै उजुरी परेको थियो । यता, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले हालसम्म दक्षिण अफ्रिकालगायत अफ्रिकी देशमा मानव तस्करी गर्ने ८ जना पक्राउ गरेको छ । ०७१ साल फागुनमा एकैपटक ७ जना पक्राउ परेका थिए।
सीआईबीले पछिल्लो पटक ०७२ साल असार ३० मा एक जना पक्राउ गरेको थियो ।

उक्त घटनामा एक जना पीडितलाई केन्याबाट उद्धार गरिएको थियो । प्रहरीका अनुसार तान्जानिया, केन्या, दक्षिण अफ्रिकालगायत अफ्रिकी देशमा नेपालीको तस्करी हुने गरेको छ। मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐनअनुसार कसुरको मात्रा हेरी बढीमा २० वर्षसम्म कैद र २ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। यसैगरी, ठगीको मात्रा हेरी बिगो र बिगोबमोजिम जरिवाना तथा पाँच वर्षसम्म कैद हुन सक्ने कानुनी व्यवस्था छ।

अस्ट्रेलिया पठाइदिने भन्दै ठगी
अस्ट्रेलिया पठाइदिने भन्दै १ करोडभन्दा बढी नेपाली रुपैयाँ ठग्ने एक मलेसियाली पक्राउ परेका छन्। अपराध महाशाखाको टोलीले ४३ बर्से रामादास बस्कारादासलाई पक्राउ गरेको हो। बस्कारादासले अस्ट्रेलियामा आफ्नो कलेज रहेको र त्यहाँ पढ्न आईईएलटीएससमेत नचाहिने भन्दै नेपालीबाट रकम लिएका थिए । यसका लागि चाबहिलस्थित एफपी एजुकेसन कन्सल्टेन्सी प्रयोग भएको हो।

कन्सल्टेन्सीका सञ्चालक चुन्टी लामालाई प्रभावमा पारेपछि बस्कारादाससहित अन्य दुई जना मलेसियालीको समूहले नेपाली विद्यार्थी ठग्न सफल भएको हो। चुन्टीसँग सम्बन्ध बढाएर मलेसियाली नेपालमा सेमिनार सञ्चालन गर्न आएका थिए । चाबहिलको मेडिसन होटल ट्रेनिङ सेन्टरमा सञ्चालित सेमिनारमा अर्का मलेसियाली धर्मालिङ र अस्ट्रेलियामा बस्ने मलेसियाली नागरिक रवीन्द्र पनि उपस्थित थिए।

उनीहरूले अध्ययनका लागि ११ जना नेपालीबाट कुल १ करोड २५ लाख रुपैयाँ लिएको जनाइएको छ । सेमिनारपछि रवीन्द्रको अस्ट्रेलियामा रहेको बैंक खातामा रकम जम्मा गर्न लगाएका थिए । एक जना विद्यार्थीले ८ लाख रुपैयाँ बुझाएका थिए । ‘कन्सल्टेन्सीको समन्वयमा नेपालीले रवीन्द्र भन्ने मलेसियालीको बैंक खातामा हालिदिएका रहेछन्।

तर, कलेजको प्रक्रिया पूरा भए पनि भिसा नआएपछि कन्सल्टेन्सीका मालिक आफैं उजुरी गर्न आइपुगेका हुन्’, महानगरीय अपराध महाशाखाका डीएसपी मनोहर भट्टले भने । आफूहरू ठगिएको थाहा पाएपछि कन्सल्टेन्सीले आफूसँग अझै विद्यार्थी रहेको भनेर सेमिनारका लागि बस्कारादासलाई नेपाल बोलाएको थियो । प्रहरीका अनुसार वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेका बेला चुन्टीसँग भएको चिनजानको फाइदा बस्कारादासले उठाएका हुन् । आजको अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij