काठमाडौँ । लगातारको वर्षासँगै आएको बाढी, लेदो र पहिरोका कारण बीपी राजमार्गसहित काभ्रे, खोटाङ र ललितपुरका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार वर्षाका कारण खहरेखोलाबाट ढुङ्गामाटोसहितको लेदो बगेर सडकमा थुप्रिनुका साथै विभिन्न स्थानमा पहिरो खस्दा सडक यातायात प्रभावित भएको हो।
काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली र वडा नम्बर ८ गिम्दीबेँसीस्थित बीपी राजमार्गमा खहरेखोलाबाट ढुङ्गामाटोसहितको लेदो बगेर सडकमा थुप्रिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
त्यस्तै, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ लाकुरीडाँडास्थित मध्यपहाडी लोकमार्गमा वर्षाका कारण माथिबाट लेदोसहितको पहिरो खस्दा करिब १५ मिटर सडक अवरुद्ध भएको छ।
यसैगरी, ललितपुर महानगरपालिका–२ सुन्दरीघाटस्थित बागमती खोला करिडोरको सडकमा बागमती नदीको जलसतह बढेपछि आवागमन बन्द भएको छ।
ललितपुरकै बागमती गाउँपालिका–३ पाङ्दुर र टार्कुचेस्थित कान्ति लोकपथमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ।
लगातारको वर्षाका कारण सडकमा बाढी, लेदो र पहिरोको जोखिम बढेकाले सम्बन्धित सडकखण्डमा यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।