२०८३ असोज २८ बुधबार

भेरी करिडोर निर्माणमा प्रगति, दुनै–लासिक्याप सडकको ट्र्याक खोल्ने काम ६० प्रतिशत पूरा

ई आर्थिक    बुधबार, असोज २८ २०८३
589
Shares
भेरी करिडोर निर्माणमा प्रगति, दुनै–लासिक्याप सडकको ट्र्याक खोल्ने काम ६० प्रतिशत पूरा

काठमाडौं । लामो समयदेखि रुग्ण अवस्थामा रहेको भेरी करिडोरअन्तर्गत दुनै–लासिक्याप सडक खण्डको निर्माण कार्यले गति लिन थालेको छ।

गत वैशाखसम्म ५ प्रतिशत मात्रै भौतिक प्रगति रहेको यस सडक खण्डमा अहिले ट्र्याक खोल्ने काम ६० प्रतिशत पूरा भएको छ।

पूर्वाधार विकास मन्त्रालयको अनुगमन र पहलपछि निर्माण कार्यमा प्रगति भएको जनाइएको छ। सडक निर्माणका क्रममा ब्लास्टिङमा देखिएको समस्या मन्त्रालयको पहलमा समाधान गरिएको छ। करिडोरको अन्तिम प्याकेजअन्तर्गत लासिक्याप–सिसैल सडक खण्डको निर्माण कार्यसमेत सुरु भएको पूर्वाधार मन्त्री सुनिल लम्सालले बताए ।

यसैगरी, लामो समयदेखि प्रगति हुन नसकेका तल्लुबगर–त्रिवेणी र त्रिवेणी–चुगाड सडक खण्डको मन्त्रालयले निरीक्षण गरी निर्माण कार्य अघि बढाएको जनाएको छ।

भेरी करिडोरअन्तर्गतका पुल निर्माणमा पनि प्रगति भएको छ। यसअघि कुनै भौतिक प्रगति नभएको तर्ता खोलाको पुलको सबस्ट्रक्चर निर्माण सम्पन्न भएको छ।

नलगाड र झिम्री खोलाका पुलमा एकतर्फको पिलर निर्माण पूरा भएको छ भने बीचको भागमा जग खन्ने काम भइरहेको छ। माइदे र तासु खोलामा पुल निर्माणका लागि जग खन्ने कामले पनि गति लिएको छ।

डोल्पासहित कर्णाली प्रदेशका विभिन्न जिल्लालाई सडक सञ्जालमार्फत जोड्ने रणनीतिक महत्त्वको भेरी करिडोर निर्माणलाई समयमै सम्पन्न गर्न मन्त्रालय प्रतिबद्ध रहेको जनाएको छ। सडक तथा पुल निर्माणले गति लिएसँगै यस क्षेत्रको यातायात पहुँच सहज हुने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij