२०८३ असोज २६ सोमबार

बुढीगण्डकीमा आएको बाढीले चार जलविद्युत् आयोजनामा क्षति, क्याम्प र निर्माण उपकरण बगायो

ई आर्थिक    आइतबार, असोज २५ २०८३
988
Shares
बुढीगण्डकीमा आएको बाढीले चार जलविद्युत् आयोजनामा क्षति, क्याम्प र निर्माण उपकरण बगायो

काठमाडौं । बुढीगण्डकी नदीमा आएको बाढीले निर्माणाधीन चार जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको प्रारम्भिक विवरण प्राप्त भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अनुसार बाढीका कारण आयोजनाका क्याम्प क्षेत्र, निर्माण उपकरण, बेलिब्रिज तथा पहुँच सडकमा क्षति पुगेको छ।

प्रारम्भिक विवरणअनुसार बाढीबाट ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजना, २४.५ मेगावाटको दोभान खोला, ३०.५९ मेगावाटको यारू खोला र १६ मेगावाटको माछा खोला जलविद्युत् आयोजनामा क्षति पुगेको हो।

बुढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र बाढीले बगाएको छ भने केही निर्माण उपकरणसमेत बगाएको विवरणमा उल्लेख छ। टाइम्स इनर्जी प्रालिले प्रवर्द्धन गरिरहेको उक्त आयोजना बाढीबाट प्रभावित भएको हो।

त्यस्तै, दोभान खोला जलविद्युत् आयोजनाको क्याम्प क्षेत्रका केही घरमा क्षति पुगेको छ भने आयोजनासँग सम्बन्धित बेलिब्रिज बाढीले बगाएको छ। २४.५ मेगावाट क्षमताको उक्त आयोजना दोभान खोला हाइड्रोपावर लिमिटेडले प्रवर्द्धन गरिरहेको छ।

यारू खोला जलविद्युत् आयोजनामा बेलिब्रिजमा क्षति पुग्नुका साथै निर्माण सामग्री तथा उपकरण बगाएको प्रारम्भिक विवरणमा जनाइएको छ। ३०.५९ मेगावाट क्षमताको उक्त आयोजना यारू हाइड्रो पावर प्रालिले प्रवर्द्धन गरिरहेको छ।

यसैगरी, वाटर इनर्जी डेभलपमेन्ट प्रालिले प्रवर्द्धन गरिरहेको १६ मेगावाट क्षमताको माछा खोला जलविद्युत् आयोजनाको पहुँच सडक र आयोजना स्थलसम्म पुग्ने पुलमा क्षति पुगेको छ।

बाढीबाट प्रभावित आयोजनाहरूमा भएको क्षतिको प्रारम्भिक विवरण प्राप्त भए पनि क्षतिको कुल आर्थिक मूल्य, निर्माण कार्यमा पर्ने असर तथा आयोजना पुनः सञ्चालनमा आउन लाग्ने समयबारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ।

बाढीबाट आयोजनाका भौतिक संरचना तथा निर्माण सामग्रीमा पुगेको क्षतिको विस्तृत मूल्याङ्कनपछि मात्रै वास्तविक क्षतिको अवस्था स्पष्ट हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij