२०८३ असोज २४ शनिबार

मलेसियामा न्यूनतम तलब २ हजार रिङ्गेट पुग्ने, साढे ४ लाख नेपाली श्रमिक लाभान्वित हुने

ई आर्थिक    शनिबार, असोज २४ २०८३
266
Shares
मलेसियामा न्यूनतम तलब २ हजार रिङ्गेट पुग्ने, साढे ४ लाख नेपाली श्रमिक लाभान्वित हुने

काठमाडौँ । मलेसिया सरकारले श्रमिकको न्यूनतम मासिक पारिश्रमिक ३०० रिङ्गेटले वृद्धि गरी २ हजार रिङ्गेट पुर्‍याउने घोषणा गरेको छ। नयाँ व्यवस्था सन् २०२७ जुनदेखि लागू हुने भएपछि मलेसियामा कार्यरत साढे ४ लाख नेपाली श्रमिकसहित लाखौँ विदेशी तथा स्वदेशी श्रमिक लाभान्वित हुनेछन्।

मलेसियाका प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमले शुक्रबार संसद्को तल्लो सदन देवान रक्यातमा सन् २०२७ को बजेट प्रस्तुत गर्दै न्यूनतम पारिश्रमिक वृद्धिको घोषणा गरेका हुन्।

हाल मलेसियामा कार्यरत श्रमिकको न्यूनतम मासिक तलब १ हजार ७०० रिङ्गेट रहेको छ। सरकारले यसलाई बढाएर २ हजार रिङ्गेट पुर्‍याउने निर्णय गरेको हो। नेपाली मुद्रामा हालको विनिमय दरअनुसार नयाँ तलब करिब ७५ हजार रुपैयाँ बराबर हुनेछ।

यस निर्णयबाट मलेसियामा कार्यरत ४० लाखभन्दा बढी श्रमिक लाभान्वित हुने जनाइएको छ। न्यूनतम तलब वृद्धिको लाभ नेपाली श्रमिकले पनि पाउनेछन्।

अर्धदक्ष र दक्ष श्रमिकको तलबसमेत बढ्ने

मलेसिया सरकारले अदक्ष श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्नुका साथै अर्धदक्ष र दक्ष श्रमिकको तलबसमेत बढाउने घोषणा गरेको छ।

त्यस्तै, सरकारसँग सम्बद्ध लगानी कम्पनी (जीएलआईसी) तथा सरकारी स्वामित्वका कम्पनी (जीएलसी) मा कार्यरत श्रमिकको न्यूनतम मासिक तलब पनि वृद्धि गरिने भएको छ।

यी कम्पनीमा श्रमिकको मासिक तलब ३ हजार १०० रिङ्गेटबाट बढाएर ३ हजार ४०० रिङ्गेट पुर्‍याउने घोषणा गरिएको छ। यसबाट करिब २ लाख ३० हजार श्रमिक लाभान्वित हुने अनुमान छ।

यसैबीच, मलेसिया सरकारले अवैध रूपमा काम गरिरहेका आप्रवासी श्रमिकको रोजगारी नियन्त्रण गर्ने उद्देश्यले करसम्बन्धी व्यवस्थालाई थप कडा बनाउने पनि घोषणा गरेको छ।

१२ वर्षमा न्यूनतम तलब ८९ प्रतिशतले वृद्धि

मलेसियामा सन् २०१३ देखि २०२५ सम्मको अवधिमा श्रमिकको न्यूनतम पारिश्रमिक करिब ८९ प्रतिशतले वृद्धि भएको छ।

सन् २०१३ मा न्यूनतम ज्यालासम्बन्धी नीति लागू हुँदा श्रमिकको मासिक न्यूनतम तलब ९०० रिङ्गेट थियो। त्यसपछि विभिन्न चरणमा तलब वृद्धि हुँदै सन् २०२५ को अगस्टसम्म आइपुग्दा १ हजार ७०० रिङ्गेट पुगेको थियो।

अब सरकारले सन् २०२७ जुनदेखि न्यूनतम मासिक पारिश्रमिक २ हजार रिङ्गेट पुर्‍याउने निर्णय गरेसँगै मलेसियामा कार्यरत नेपाली श्रमिकको आम्दानीमा समेत वृद्धि हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij