२०८३ असोज २५ आइतबार

मुग्लिन–काठमाडौं सडक अवरुद्ध भएपछि त्रिभुवन राजपथमा आलोपालो प्रणाली, यस्तो छ नयाँ समयतालिका

ई आर्थिक    शनिबार, असोज २४ २०८३
285
Shares
मुग्लिन–काठमाडौं सडक अवरुद्ध भएपछि त्रिभुवन राजपथमा आलोपालो प्रणाली, यस्तो छ नयाँ समयतालिका

हेटौँडा । मुग्लिन–काठमाडौं सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा सवारी आवागमन व्यवस्थित गर्न नयाँ समयतालिका लागू गरेको छ।

वैकल्पिक मार्गका रूपमा त्रिभुवन राजपथमा सवारीसाधनको चाप बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै प्रशासनले निश्चित समय तोकेर आलोपालो प्रणाली लागू गरेको हो।

प्रशासकीय अधिकृत सन्तोष सुवेदीका अनुसार हेटौँडाबाट काठमाडौं जाने सवारीसाधनलाई असोज २४ गते बिहान २ बजेदेखि ५ बजेसम्म र दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न अनुमति दिइएको छ। त्यस्तै, असोज २५ गते बिहान ४ बजेदेखि १० बजेसम्म पनि यस दिशामा सवारीसाधन सञ्चालन गर्न पाइनेछ।

यसैगरी, काठमाडौंबाट हेटौँडातर्फ आउने सवारीसाधनका लागि पनि छुट्टै समय निर्धारण गरिएको छ। शुक्रबार साँझ ६:३० बजेदेखि राति ११ बजेसम्म सवारी सञ्चालनको व्यवस्था गरिएको थियो। शनिबार बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म र राति १० बजेदेखि असोज २५ गते बिहान १ बजेसम्म सवारीसाधन सञ्चालन गर्न पाइनेछ।

असोज २५ गते दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म पनि काठमाडौंबाट हेटौँडातर्फ सवारी सञ्चालन गर्न अनुमति दिइएको सुवेदीले जानकारी दिए।

ठूला मालवाहक सवारीसाधनलाई रोक

प्रशासनले त्रिभुवन राजपथमा ११ मिटर लम्बाइसम्मका यात्रुवाहक सवारीसाधनलाई मात्र सञ्चालन अनुमति दिएको छ। त्यस्तै, १० चक्काभन्दा बढी भएका तथा १५ टनभन्दा बढी भार बोकेका मालवाहक सवारीसाधनलाई उक्त सडकखण्ड प्रयोग गर्न पूर्ण रूपमा रोक लगाइएको छ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले मुग्लिन–काठमाडौं सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गमा सवारी चाप बढ्ने सम्भावनालाई ध्यानमा राखेर आवागमन व्यवस्थापनका लागि यस्तो निर्णय गरिएको बताए।

उनका अनुसार कान्ति लोकपथमा भने दिउँसो दोहोरो सवारी सञ्चालन भइरहेको छ। सिस्नेरी हुँदै काठमाडौं जाने मार्गमा साना सवारीसाधनका लागि भने आलोपालो समयतालिका लागू गरिएको छैन।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले यात्रु तथा सवारी चालकलाई निर्धारित समयतालिकाको पालना गर्दै यात्रा गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij