काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्दै मुलुकको विकासमा योगदान दिन आग्रह गर्नुभएको छ।
बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संघीय संसद् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्राविधिक पृष्ठभूमिका सांसदहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले राजनीतिक विषयभन्दा दीर्घकालीन नीति, प्राविधिक विषय र नयाँ विचारमा केन्द्रित हुन आग्रह गर्नुभएको हो।
प्रधानमन्त्री शाहले सांसदहरू नीति निर्माण गर्ने महत्वपूर्ण जिम्मेवारीमा रहेकाले आफ्नो प्राविधिक दक्षता र व्यावसायिक अनुभवलाई मुलुकको विकासमा प्रयोग गर्नुपर्ने बताउनुभयो।
“तपाईंहरू आफैँ प्राविधिक विषयमा जानकार हुनुहुन्छ, मुलुकको नीति निर्माण गर्ने ठाउँमा हुनुहुन्छ, देश विकासका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नुहोस्,” प्रधानमन्त्री शाहले भन्नुभयो।

उहाँले सांसदहरूलाई पार्टी राजनीतिसँगै आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई समेत प्राथमिकता दिन सुझाव दिनुभयो। निर्वाचन तथा राजनीतिक गतिविधिका समयमा पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा देश विकासका लागि प्राविधिक विषयमा केन्द्रित हुनुपर्ने उहाँको भनाइ थियो।

प्रधानमन्त्री शाहले प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई ‘असाधारण’ व्यक्तिका रूपमा उल्लेख गर्दै उनीहरूले नयाँ उपाय र विचार ल्याएर त्यसको कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउनुभयो।
नयाँ सोच र विज्ञताको प्रभावकारी उपयोगमार्फत दीर्घकालीन विकासका आधार तयार गर्न सकिने उल्लेख गर्दै प्रधानमन्त्री शाहले निरन्तर नयाँ उपायमा काम गर्न सके पाँच वर्षमै मुलुकमा उल्लेख्य परिवर्तन ल्याउन सकिने धारणा राख्नुभयो।