ताइवानलाई हतियार बिक्रीबारे छलफलका क्रममा चिनियाँ राष्ट्रपतिलाई यस्तो प्रस्ताव राखेको अमेरिकी राजदूत पर्ड्यूको भनाइ
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग अमेरिकाबाट हतियार किन्न चाहनुहुन्छ कि भनेर प्रस्ताव राखेको अमेरिकी राजदूत डेभिड पर्ड्यूले दाबी गरेका छन्।
पर्ड्यूले आइतबार ‘फक्स न्यूज सन्डे’ कार्यक्रममा बोल्दै ताइवानलाई प्रस्तावित अमेरिकी हतियार बिक्रीबारे ट्रम्प र सीबीच छलफल भइरहेको बताएका हुन्। यद्यपि, ट्रम्पले सीसँग उक्त प्रस्ताव कहिले राखेका थिए भन्ने उनले स्पष्ट पारेनन्।
कार्यक्रममा ताइवानका लागि अमेरिकी हतियार सहायता तथा अर्डरमा भइरहेको ढिलाइबारे प्रश्न गरिएको थियो। त्यसको जवाफमा पर्ड्यूले ट्रम्प ताइवानको विषयमा बलियो रहेको र अमेरिकाले ताइवानलाई पर्याप्त हतियार बिक्री गरिसकेको बताए।
उनका अनुसार ट्रम्प र सीबीच ताइवानलाई भविष्यमा गरिने अमेरिकी हतियार बिक्रीबारे समेत छलफल जारी छ।
‘राष्ट्रपति ट्रम्पले भनिरहनुहुन्छ, हामी विश्वका अन्य देशलाई पनि हतियार बेच्छौँ। उहाँले राष्ट्रपति सीलाई कुनै समयमा केही हतियार किन्न चाहनुहुन्छ कि भनेर सोध्नुभएको थियो,’ पर्ड्यूले भने।
ताइवानलाई अमेरिकी हतियार बिक्रीमा चीनको आपत्ति
अमेरिकाले ताइवानलाई औपचारिक रूपमा स्वतन्त्र राष्ट्रका रूपमा मान्यता दिएको छैन। तर अमेरिकी कानुनअनुसार ताइवानलाई आफ्नो आत्मरक्षाका लागि आवश्यक साधन उपलब्ध गराउने नीति अमेरिकाले अपनाउँदै आएको छ। अमेरिका ताइवानको प्रमुख अनौपचारिक समर्थक तथा हतियार आपूर्तिकर्ता पनि हो।
चीनले भने ताइवानलाई अमेरिकी हतियार बिक्रीको निरन्तर विरोध गर्दै आएको छ। बेइजिङले वासिङ्टनलाई ताइवानसँगको हतियार कारोबार रोक्न आग्रह गर्दै आएको छ।
यसअघि ट्रम्पले ताइवानका लागि प्रस्तावित १४ अर्ब डलर बराबरको हतियार प्याकेजलाई चीनसँगको वार्तामा ‘राम्रो वार्ता चिप’ का रूपमा प्रयोग गर्न सकिने बताएका थिए। उक्त प्याकेजको स्वीकृतिमा ढिलाइ भइरहेको विषयले पनि चर्चा पाउँदै आएको छ।