नेपालगन्ज । तीन दिनदेखि भइरहेको अविरल वर्षा र शनिबार चलेको हावाहुरीका कारण बाँके जिल्लाका विभिन्न स्थानमा धानबालीमा ठूलो क्षति पुगेको छ।
वर्षा, डुबान र हावाहुरीका कारण जिल्लाका आठवटै स्थानीय तहमा रोपिएको धान ढलेको तथा डुबानमा परेको कृषि ज्ञान केन्द्र, बाँकेले जनाएको छ। तरकारी खेतीमा समेत वर्षा र हावाहुरीले क्षति पुर्याएको केन्द्रको भनाइ छ।
कृषि ज्ञान केन्द्र बाँकेकी वरिष्ठ कृषि प्रसार अधिकृत तथा सूचना अधिकारी सुजिता शर्माका अनुसार जिल्लाका सबै पालिकाबाट धानबालीमा क्षति पुगेको जानकारी किसानमार्फत प्राप्त भएको छ। यद्यपि क्षतिको पूर्ण विवरण भने संकलन भइसकेको छैन।
शर्माका अनुसार जिल्लाका आठवटै पालिकाका कृषि शाखासँग क्षतिको विवरण माग गरिएको छ। सबै पालिकाबाट विवरण प्राप्त भएपछि मात्रै वर्षा र हावाहुरीबाट भएको वास्तविक क्षतिको यकिन हुने उनले बताइन्।
नेपालगन्ज–१९ मन्निपुरका किसान हेमराज काँदुका अनुसार अधिकांश खेतमा हावाहुरीले धान ढालेको छ भने लगातारको वर्षाले खेत डुबाएको छ। अहिले नै कति धान जोगिन्छ र कति क्षति हुन्छ भन्ने यकिन गर्न नसकिने उनले बताए।
यस्तै, डुडुवा गाउँपालिका–कम्दीका किसान सुजन थापाको खेतमा पनि अधिकांश धान ढलेको र डुबेको छ। खेतमा रहेको धान डुबान र हावाहुरीका कारण प्रभावित भएको भन्दै उनले क्षतिको यकिन विवरण अहिले नै भन्न सक्ने अवस्था नरहेको बताए।
कृषि ज्ञान केन्द्र बाँकेका अनुसार जिल्लामा यस वर्ष ३३ हजार ५०३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिएको छ। यस वर्ष धान उत्पादन राम्रो हुने अपेक्षा गरिए पनि कटानीको समय नजिकिँदै गर्दा भएको अविरल वर्षा, डुबान र हावाहुरीले उत्पादन घट्ने चिन्ता बढाएको छ।
धानबालीमा भएको क्षतिको प्रारम्भिक विवरण संकलन भइरहेकाले वास्तविक क्षतिको विवरण केही दिनपछि मात्रै सार्वजनिक हुने कृषि ज्ञान केन्द्रले जनाएको छ।