२०८३ भाद्र २७ शनिबार

सल्यानमा बोलेरो जिप ९० मिटर तल खस्यो, दुई जनाको मृत्यु, चार घाइते

ई आर्थिक    शनिबार, भाद्र २७ २०८३
171
Shares
सल्यानमा बोलेरो जिप ९० मिटर तल खस्यो, दुई जनाको मृत्यु, चार घाइते

सल्यान : सल्यानको त्रिवेणी गाउँपालिका–५ सिम्कमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चालकसहित चार जना घाइते भएका छन्।

सिम्कबाट गाउँपालिकाको केन्द्र लुहाम हुँदै दाङतर्फ जाँदै गरेको लु.प्र.०२००१ ज ०००५ नम्बरको बोलेरो जिप शनिबार बिहान करिब ८ बजे अनियन्त्रित भई सडकबाट करिब ९० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

दुर्घटनामा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो। जिल्ला अस्पताल सल्यानमा उपचाररत रेशम बुढाथोकी र बिपना बुढाथोकीलाई बिहान १०ः२२ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

दुर्घटनामा त्रिवेणी गाउँपालिका–५ सिम्कका २४ वर्षीय चालक भुपाल पुन गम्भीर घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको र बोल्न नसक्ने अवस्था रहेको प्रहरीले जनाएको छ।

त्यस्तै, सोही ठाउँका २९ वर्षीय पारस बोहरा र ५० वर्षीय डिल्लीबहादुर वली घाइते भएका छन्। बोहराको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको छ भने वलीको पनि टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।

त्रिवेणी गाउँपालिका–६ की करिब ४२ वर्षीया लालमति बुढाथोकी पनि दुर्घटनामा घाइते भएकी छन्। उनको टाउकोमा चोट लागेको र बोल्न नसक्ने अवस्था रहेको प्रहरीले जनाएको छ।

घाइते चारै जनालाई लुहामस्थित त्रिवेणी हेल्थ केयरमा सामान्य उपचारपछि थप उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।

दुर्घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय लुहामबाट प्रहरी निरीक्षक सोम घर्तीमगरको कमान्डमा १० जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। दुर्घटनामा परेको जिप घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij