बाजुरा । बाजुराको गौमुल गाउँपालिकाको केन्द्र घटमुनालाई जोड्ने बुढीगंगा नदीमा निर्माण हुने भनिएको पक्की पुलको सम्झौता भएको चार वर्ष बितिसक्दा पनि सुरु हुन सकेको छैन।
पुल निर्माणका लागि २०७९ बैशाखमा सम्झौता भएपनि अहिलेसम्म आयोजनास्थलमा कुनै काम सुरु नभएको स्थानीयवासीको गुनासो छ। बडीमालिका नगरपालिका र गौमुल गाउँपालिकाको सीमामा पर्ने घटमुनामा पुल निर्माणका लागि स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय धनगढीले ठेक्का प्रक्रिया अघि बढाएको थियो।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय र एआर चन्द्र ग्रुप जेभीबीच ४ करोड एक लाख २२ हजार ४८४ रूपैयाँमा निर्माण सम्झौता भएको थियो।
सम्झौताअनुसार निर्माण कम्पनीले काम सुरु गर्ने प्रतिबद्धतासहित ३५ लाख रूपैयाँ पेस्कीसमेत लिएको थियो। लामो समय बितिसक्दा पनि सम्बन्धित निकायले निर्माण कार्य सुरु गराउन चासो नदेखाएको गौमुल-२ का वडाध्यक्ष देवबहादुर रोकायाले बताए। पुल नहुँदा स्थानीयवासीलाई आवतजावतमा समस्या हुनुका साथै वर्षायाममा यातायातसमेत अवरुद्ध हुने गरेको उनले बताए।
गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले सम्झौताअनुसार दुई वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि पटकपटक आग्रह गर्दा पनि काम सुरु नभएको बताए।
सदरमुकाम मार्तडीदेखि गौमुल गाउँपालिकाको केन्द्र घटमुनासम्मको दूरी करिब १२ किलोमिटर छ। गाउँपालिकाको केन्द्र पुग्न दुईवटा नदी पार गर्नुपर्ने अवस्था छ। मार्तडी नजिकैको बाहुली खोलामा पनि सडक डिभिजन कार्यालय, साँफेबगरले यसअघि ठेक्का आह्वान गरे पनि पुल निर्माणको काम अघि बढ्न सकेको छैन।
घटमुनामा पुल निर्माण सम्पन्न भए गौमुल गाउँपालिकाका बासिन्दालाई मात्र नभइ बाजुराबाट बझाङ जिल्लासम्म पुग्ने छोटो सडकमार्ग सञ्चालनमा समेत सहज हुने स्थानीय गणेश रोकायाले बताए।
हाल मार्तडीदेखि गौमुलसम्मको करिब १२ किलोमिटर सडकखण्डमध्ये करिब ६ किलोमिटर कालोपत्र गर्ने काम सुरु भइसकेको छ। कालोपत्रको काम प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय साँफेबगरमार्फत भइरहेको छ।
स्थानीय धनबहादुर रोकायाका अनुसार १२ किलोमिटर सडक कालोपत्र गरी दुवै नदीमा पक्की पुल निर्माण भएको भए वर्ष दिनभित्रै गौमुल गाउँपालिका सदरमुकाम मार्तडीसँग सडक सञ्जालमा जोडिने थियो। पुल निर्माण सुरु नहुँदा स्थानीयवासीले अझै सास्ती खेप्नुपरेको उनले बताए।
प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले पुल निर्माणका लागि सम्झौता भएको लामो समय बितिसक्दा पनि काम सुरु नभएपछि अहिले ठेक्का तोड्ने प्रक्रियामा रहेको जानकारी दिए।
बाजुरामा थुप्रै सडक, पुललगायत ठूला विकास आयोजनाको सम्झौता लामो समय बित्दासमेत निर्माण सुरु नहुने र केही आयोजना बीचमै अलपत्र पर्ने प्रवृत्तिका कारण नागरिकले सास्ती खेप्दै आएका छन्। रासस