२०८३ भाद्र २७ शनिबार

एलपी ग्यासको माग बढ्दो, २४ दिनमा ४२ हजार ५०० मेट्रिक टन आयात

ई आर्थिक    सोमबार, साउन २५ २०८३
684
Shares
एलपी ग्यासको माग बढ्दो, २४ दिनमा ४२ हजार ५०० मेट्रिक टन आयात

काठमाडौं । गत आर्थिक वर्षमा एलपी ग्यासको बिक्री करिब ६ प्रतिशतले घटेको भए पनि चालु आर्थिक वर्ष सुरु भएसँगै यसको माग पुनः बढ्न थालेको छ। नेपाल आयल निगमका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो २४ दिनमै ४२ हजार ५०० मेट्रिक टन एलपी ग्यास आयात भएको छ। यो परिमाण नेपालमा हुने औसत मासिक खपतको करिब बराबर हो।

निगमका अनुसार आर्थिक वर्ष २०८२/८३ मा देशभर ५ लाख २१ हजार ५२९ मेट्रिक टन एलपी ग्यास बिक्री भएको थियो। अघिल्लो आर्थिक वर्ष ५ लाख ५५ हजार १११ मेट्रिक टन बिक्री भएकोमा गत वर्ष ३३ हजार ५८२ मेट्रिक टनले बिक्री घटेको हो। यो अघिल्लो वर्षको तुलनामा करिब ६ प्रतिशतको कमी हो।

गत आर्थिक वर्षमा एलपी ग्यासको बिक्रीमा भने महिनैपिच्छे फरक अवस्था देखिएको थियो। साउनमा ४४ हजार ३१८ मेट्रिक टन बिक्री भएकोमा भदौमा बढेर ४७ हजार ६५४ मेट्रिक टन पुगेको थियो। असोजमा ४७ हजार ४७०, कात्तिकमा ४२ हजार ६८१, मंसिरमा ४५ हजार २२८ र पुसमा ४७ हजार ४६० मेट्रिक टन ग्यास बिक्री भएको निगमको तथ्यांक छ।

माघमा ४६ हजार २८४ मेट्रिक टन बिक्री भएकोमा फागुनमा यो बढेर ५१ हजार १९२ मेट्रिक टन पुगेको थियो। यो गत आर्थिक वर्षकै सबैभन्दा बढी मासिक बिक्री हो। त्यसपछि ७.१ किलो क्षमताको आधा सिलिन्डरको प्रयोग सुरु भएपछि ग्यासको मागमा फरक अवस्था देखिएको निगमको भनाइ छ।

चैतमा एलपी ग्यासको बिक्री ३८ हजार ८०० मेट्रिक टनमा झरेको थियो। वैशाखमा ३२ हजार ५६ मेट्रिक टन र जेठमा ३३ हजार ८४२ मेट्रिक टनमा सीमित भएको बिक्री असारमा भने पुनः बढेर ४४ हजार ५४४ मेट्रिक टन पुगेको थियो।

निगमका अधिकारीहरूका अनुसार फागुनमा ठूलो परिमाणमा ग्यास आयात भएपछि केही उपभोक्ताले अतिरिक्त सिलिन्डर सञ्चित गरेका थिए। त्यसपछि ७.१ किलो क्षमताको आधा सिलिन्डर बजारमा आउँदा उपभोक्तासँग पहिले नै ग्यास मौज्दात रहेकाले तत्काल मागमा कमी देखिएको थियो। सञ्चित ग्यास सकिँदै गएपछि उपभोक्ता पुनः १४.२ किलोको पूर्ण सिलिन्डरतर्फ फर्किन थालेसँगै माग बढेको निगमको विश्लेषण छ।

आधा सिलिन्डर बजारमा आएपछि बिक्रीको परिमाण र कारोबार भएका सिलिन्डरको संख्याबीच पनि फरक देखिएको छ। निगमका अनुसार चैतमा ५४ लाख ६४ हजार ७८९ सिलिन्डर, वैशाखमा ४५ लाख १४ हजार, जेठमा ४७ लाख ६६ हजार ४७९ र असारमा ६२ लाख ७३ हजार ८०३ सिलिन्डर कारोबार भएका थिए। ७.१ किलो क्षमताको आधा सिलिन्डरलाई समेत गणनामा समावेश गरिएकाले सिलिन्डरको संख्या बढेको निगमले जनाएको छ।

चालु आर्थिक वर्षको सुरुवातमै भएको उच्च आयातले बजारमा एलपी ग्यासको माग पुनः बढिरहेको संकेत गरेको छ। नेपालमा सामान्य अवस्थामा मासिक ४५ हजारदेखि ४६ हजार मेट्रिक टनसम्म एलपी ग्यास खपत हुने निगमको अनुमान छ। तर आर्थिक वर्षको सुरुवाती २४ दिनमै भएको ४२ हजार ५०० मेट्रिक टन आयातले आगामी दिनमा आपूर्तिमा थप दबाब पर्न सक्ने देखिएको छ।

बजारमा ग्यास अभाव हुन थालेको चर्चा भइरहेका बेला निगमले भने आपूर्ति व्यवस्थामा तत्काल कुनै ठूलो समस्या नरहेको दाबी गरेको छ। नियमित मागअनुसार ग्यास आयात भइरहेको भन्दै निगमले अनावश्यक रूपमा अभावको त्रास सिर्जना नगर्न आग्रह गरेको छ।

माग बढ्न थालेपछि निगमले भारतीय आयल कर्पोरेसन (आईओसी)सँग एलपी ग्यासको आपूर्ति बढाउन प्रस्ताव गरेको छ। हाल मासिक ४६ देखि ४७ हजार मेट्रिक टनको हाराहारीमा रहेको आपूर्ति बढाएर ६० हजार मेट्रिक टन पुर्‍याउन निगमले भारतीय पक्षसँग आग्रह गरेको हो।

निगम स्रोतका अनुसार आईओसीले तत्कालका लागि मासिक ५५ हजार मेट्रिक टनसम्म एलपी ग्यास उपलब्ध गराउन सकिने जानकारी दिएको छ। यद्यपि आपूर्ति बढाउने प्रक्रिया तत्कालै पूरा नहुने भएकाले माग र उपलब्धताका आधारमा चरणबद्ध रूपमा आपूर्ति विस्तार गरिने निगमका अधिकारीहरूले बताएका छन्।

निगमले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास खरिद गरेर घरमा सञ्चित नगर्न पनि आग्रह गरेको छ। आपूर्तिमा तत्काल ठूलो समस्या नरहेको अवस्थामा हल्लाका आधारमा हुने अतिरिक्त खरिदले बजारमा कृत्रिम अभाव सिर्जना गर्न सक्ने निगमको भनाइ छ। नियमित आपूर्ति कायम रहेको जनाउँदै निगमले उपभोक्तालाई आवश्यक परिमाणमा मात्रै एलपी ग्यास खरिद गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij