२०८३ भाद्र २९ सोमबार

बदलिँदो सामाजिक मनोविज्ञान : नयाँ पुस्ताको सोच, प्रविधि र परिवर्तनको प्रभाव

ई आर्थिक    आइतबार, साउन ३ २०८३
5K
Shares
बदलिँदो सामाजिक मनोविज्ञान : नयाँ पुस्ताको सोच, प्रविधि र परिवर्तनको प्रभाव

डा. श्रीराम न्यौपाने

काठमाडौं । जेनजी विद्रोह, आम निर्वाचन र पछिको सय दिने सरकारी कार्यावधिलाई आधार मानी बदलिँदो सामाजिक मनोविज्ञानको चिरफार गर्न खोजेको छु । यसमा मानवीय स्वभाव, सुन्ने क्षमता, गृहित धारणा, व्यक्त प्रतिक्रिया, जीवनशैली, सामाजिकता, अनुशासन जस्ता मनोसामाजिक चरित्रलाई आधार बनाएको छु । खासमा मनोपरिवर्तित सन्दर्भका मापक भनेकै बोली, व्यवहार, चिन्तन, शैली आदि क्रियाकलाप नै त हुन् ।

भनिन्छ, समय गतिवान् र बलशाली हुन्छ । परिवर्तन उसको मूल विचार हो । यो विशेषता प्रकृतिले प्राणीलाई सिकाइरहेको हुन्छ । त्यो प्रचण्ड गर्मी वर्षा र शरद हुँदै कठ्याङ्ग्रिने ठण्डीमा पुग्दा समाप्त हुन्छ अनि पुनः वासन्ती सौम्यतापछि उही राप ताप दोहोरिन्छ । तर यसले सामाजिक मनोविज्ञानमा नव नव ज्ञान, ऊर्जा र अनुभव प्रदान गरिसकेको हुन्छ । साथै कठिनाइ र सङ्घर्षका पीडा भुलाउँदै नयाँ युग र सम्भावनाको क्षितिज उघारिदिएको हुन्छ । यसै पृष्ठभूमिमा हेर्दा नेपाली मनमा पनि उथलपुथल आएको छ । विगतका भोगाइको स्मृतिले भन्दा आगतका सुखद् कल्पनाले जितेको आशालाग्दो उज्यालो दिएको छ ।

यस परिवर्तित परिवेशमा राजनीतिक, आर्थिक, सांस्कृतिक तथा प्रविधिगत क्षेत्रका गतिविधिहरूको सूक्ष्म निरीक्षण गर्नुपर्ने हुन्छ । पुरानो र नयाँ पुस्ताको कित्ताकाटले राजनीतिमा पलायन र उत्पत्तिको सन्तुलन मिलाइदिएको छ । आफ्नो उर्वर जवानी, दिनरातको ज्ञान र अनुभव अनि त्यागलाई आत्ममूल्याङ्कनले नै सामान्य, कसरयुक्त र अज्ञानी ठहराइदिएपछि पुरानोले विस्थापित र निवृत्त अनुभूति गर्नु अनौठो होइन । अर्कातिर नयाँ बेर्ना, बिरुवा अनि मुना हुर्कदाको सौन्दर्यले सबैलाई लोभ्याइरहेछ । फेरि हुर्कँदो नवयुवा सामान्य प्रतिरोधसँग जुध्न सक्छ तर प्रौढले ससानो उतारचढावमा पनि थला पर्ने नियति भोग्छ । यो प्राकृतिक ऐन हो ।

अहिलेको उत्पादन सम्बन्ध पनि फेरिएको छ । रोजगारदातासँगको रोजगारको सम्बन्धमा शङ्का र द्वन्द्व घटेको छ । विधि, अनुशासन, कर्तव्य तथा जिम्मेवारीलाई प्रविधिले जाँच्न थालेको छ । अनैतिक र गैरकानुनी काममा नयाँ आयाम आइरहे पनि प्रायः नियन्त्रित छन् । यो पुस्ता पहिलाको भन्दा बढी आचरणबद्ध र विधिपैमी बन्दै गएको हामी घरमै पनि महसुस गरिरहेका छौँ ।

हाम्रा आफूभित्रका कमजोरीहरू पछिल्लो पुस्ताले देखाइदिन थालेको छ । युगबोध गराइदिएको छ । खाई नखाई धेरै धन थुपार्ने, धनले ठुलो देखिने, धनकै लागि भ्रष्टाचार वा दुराचार गर्ने जस्ता प्रवृत्ति त्यागिँदै छन् । प्रविधितर्फको आकर्षण बढ्दो छ । सामूहिकता वा वर्गीयताभन्दा व्यक्तिवादले प्रश्रय पाइरहेछ । कसैको कोहीप्रति चासो, चिन्ता र भर छैन । मनोविज्ञान बुझ्दा स्वतन्त्रताको पूर्ण उपयोग गर्न यो पुस्ता बढी उद्दत छ ।

आज प्रविधि र मानिसबीचको सम्बन्ध नङ र मासुको जस्तै भइसकेको छ । ऊ सबै त्याग्न सक्छ तर डिजिटलविना पानी नपाएको माछोजस्तो हुन्छ । त्यो उसलाई पढाउने, डोर्‍याउने अनि मनोरञ्जन दिने साथी बनेको छ । आज प्रायः सबैसँग यस प्रविधिले नाता जोडेको छ । अज्ञानीले सिक्न नवयुवाको साथ खोज्नुपरेको छ । यसले बसालेको लत र गलत असर पनि प्राकृतिक हुन् किनकि सृष्टि र विनाश सँगै हिँडिरहन्छन् । जे होस् सङ्क्रमणकालीन नेपाली मनोविज्ञान प्रविधिमय बन्दै आएको अवश्य हो । यसलाई होच्याएर वा लत्याएर अघि बढ्छु भन्ने सोच्नु ज्येष्ठ हठ वा प्रौढ दम्भबाहेक केही होइन । विद्यार्थीले कक्षामा मोबाइल बोक्नु, कर्मचारीले काममा इन्टरनेट सुविधा पाउनु, गृहिणीले घरमा टेलिभिजन हेर्नु जस्ता काम गलत होइनन् बरु कुन समयमा के गर्ने भन्ने सचेतना बढाउनु महत्वपूर्ण हो । त्यसैले सभ्यता यान्त्रिक भएको टिप्पणी गर्नु भन्दा यन्त्रदास होइन यन्त्र नायक बन्नतर्फ लाग्नुपर्छ ।

वर्तमान पुस्तामा चाड, पर्व, संस्कार, पाठ, तीर्थ, धर्म, जात आदि सांस्कृतिक पक्षहरू प्रति आकर्षण घट्दो छ । जुनसुकै कुरामा पनि सत्यता, वैज्ञानिकता, मूल्य र प्रतिफल जोड्न खोज्नु उनीहरूको स्वभाव बनेको छ । ढिलो विवाह, अविवाह, न्यून सन्तानोत्पत्ति, एकल जीवन, बढ्दो पारपाचुके, परिवारका सदस्यप्रतिको विकर्षण, स्नेहमा ह्रास, स्वनिर्मित धारणा आदिले शिथिल मानवीय संवेदना र सांस्कृतिक रूपान्तरणको सङ्केत गरिरहेका छन् । यसले ज्ञानको पुस्तान्तरणमा बाधा उत्पन्न गरी द्वन्द्व सिर्जना गरेको छ । यसलाई पश्चिमाकरण वा मूल्यको स्खलन भनी बुझ्नु नै बेठिक हो । परिवर्तन नक्कलबाट होइन प्रकृतिबाटै आइरहेछ । यो वेगलाई हामी रोक्न सक्दैनौँ । के मात्र सोच्न वा विश्लेषण गर्न सक्छौँ भने त्यसले सन्ततिलाई कसरी कम क्षति र बढी फाइदा दिन सक्छ ।

खानपान र पोसाकका रूपरङहरू सधैँ फेरिइरहेका देख्छौँ । नयाँ मोडेलहरूले बदलिँदो सामाजिक मनोविज्ञानलाई तान्ने गरेको छ । कोठा र घरमा सजावट, फेरबदल अनि रूपान्तरण चलिरहन्छ । विभिन्न कुराको कल्पना गर्ने मन छिनछिनमा बदलिइरहेको पाउँछौँ । उही प्रकृति केही दिनपछि हेर्दा भिन्न अनुभूति हुन्छ । एकै प्रकारको चलन, संस्कार, शैली अनि संरचनालाई त्याज्य ठान्ने सामाजिक मनले प्रत्येक पल नयाँ कुरा देख्न, अनुभूत गर्न र रोमाञ्चित हुन खोजिरहेको हुन्छ । यही हो परिवर्तन, गतिशीलता र विकास । यस्तो प्राकृतिक सत्यलाई नबुझ्नु वा नबुझेजस्तो गर्नु मूर्खता हो, समाप्तिको बाटो हो ।

प्रविधिले समाजलाई लेख्न, पढ्न, सोच्न, देख्न अनि सुन्न सजिलो बनाइदिएको छ । हाम्रा हरेक क्षेत्रहरूमा ढिला सुस्ती थियो । बाढीमा पहिरो, कुडा कर्कट, ढुङ्गा माटो आदि मिसिएपछि आयात नबढेझैँ वर्तमान युवा सोचाइमा पनि ढिलाइ, भ्रष्टता, दम्भ तथा दमनबाट उत्पन्न विकार मिसियो । छिटो नतिजा खोज्ने मनोविज्ञानमा बारम्बार ठेस लाग्यो । एकातिर लम्मेतान संसदीय, प्रशासनिक तथा नीतिगत प्रक्रियाले जकडेको र अर्कातिर द्रुत परिणामको आशामा तिर्खाएको मनोविज्ञान जुध्न पुग्दा भर्खरैको महाविस्फोट भएको अवश्य हो तर यस सत्यलाई स्वीकार्न अझै एउटा समूह तयार छैन । उल्टै यसको छानबिन हुनुपर्छ र सत्य तथ्य बाहिर आउनुपर्छ भन्नेहरू छन् यहाँ । यस्तो आक्रोशित बदलिँदो मनोविज्ञान र परिणामलाई नबुझ्नु अर्को विडम्बना हो ।

अनौठो त के भने समाजका यावत कुरा फेरिएका, नयाँ भएका अनि मूल अवस्था छाडेका छन् तर हाम्रो सचाइमा परिवर्तन आएकै छैन । वरिष्ठले कनिष्ठलाई असक्षम, नालायक, उद्दण्ड अनि अबौद्धिक ठानिरहेकै हुन्छ । अपरिपक्वताको दोषारोपण गर्दै निराशा बाँडिरहेका हुन्छन् । सायद आफूलाई अग्रज, विद्वान् अनि सर्वज्ञानी नठानिदिएकामा कुण्ठा छ । आफूले ल्याएको, कमाएको, बनाएको आदि दम्भ पनि होला । विगत युग हाँकेको अनुभव र गरेका सङ्घर्षले पनि तिनका जीवनीका पाना भरिएका अवश्य होलान् । अगाध देशप्रेम, महान् सपना अनि दुसाध्य लक्ष्य पनि त्यहाँ मुछिएको हुन सक्छ । यति भएर पनि तत्कालीन सन्दर्भमा मात्र श्रद्धेय, सर्वोच्च अनि ग्राह्य हुन्छन् भन्ने सोच आजको पुस्ताले लिएको छ ।

नेपालका दस दस वर्षका अन्तरालमा भइरहेका राजनीतिक उथलपुथलको कारण नै यही बदलिँदो मनोविज्ञान हो । त्यस्तै सांस्कृतिक, आर्थिक, सामाजिक, धार्मिक आदि क्षेत्रमा पनि यस्ता विद्रोहहरू भइरहेका छन् तर भूमिगत वा अप्रत्यक्ष रूपमा । विदेशबाट नेपालमा र यहाँ पूर्वबाट पश्चिमतिर यो क्रम बढ्दै छ । डिजिटलले गरेको चेतना विस्तारको गति अहिले बढी छ ।

समाज उन्नतिलाई त अनुभूत गर्दैन भने यथास्थितिलाई त ऊ पश्चगमन नै ठान्छ । बाबुआमाको पेसा, कमाइ, जीवनशैली, सोच तथा तरिका सन्तानले प्रायः पछ्याउँदैनन् । विद्रोहबाट आएको सरकारप्रतिको मोह पनि समयचक्रले घृणामा बदल्न थाल्छ । यस्तो द्रुत परिवर्तनको गतिलाई महसुस गर्न, पछ्याउन र सच्चिन नसक्नेले अब जनविश्वास जित्छ भन्नु त हुटिट्याउँले आकाश थाम्छ भन्नु मात्र हो ।

अरूको सहारामा बाँच्नुपर्ने, शक्ति आवश्यक पर्ने, विचार डोर्‍याउने, महान् लक्ष्य लिने, व्यवसायलाई उठाउन चाहने वा समस्यारहित जीवन जिउने मातापिता, पेसाकर्मी, प्राज्ञिक, राजनेता, व्यवसायी तथा सर्वसाधारण जोकोहीले पनि सामाजिक मनोविज्ञान थाहा पाउनै पर्छ । वास्तविकता यही हो । अब बदलिँदो मनोभाव रोक्ने सामर्थ्य त कसैसँग हुँदैन त्यसैले आफैं बदलिनु बुद्धिमानी हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij