भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन आजदेखि भरतपुरमा सुरु हुँदैछ। महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको र देशभर तथा विदेशबाट प्रतिनिधिहरू चितवन आउने क्रम जारी रहेको पार्टीले जनाएको छ।
भरतपुर–१० स्थित गेस्ट हाउस चौरमा करिब तीन हजार वर्गमिटर क्षेत्रफलमा जर्मन प्रविधियुक्त डोम निर्माण गरिएको छ। उद्घाटन समारोहमा पार्टी सभापति रवि लामिछानेसहित शीर्ष नेताहरू सहभागी हुनेछन् भने विभिन्न दलका नेता तथा विशिष्ट व्यक्तित्वलाई पनि आमन्त्रण गरिएको छ। महाधिवेशनमा ४ हजार २ सय ११ प्रतिनिधिको सहभागिता रहने र उनीहरूका लागि चितवनका तीन सयभन्दा बढी होटलमा आवासको व्यवस्था गरिएको छ।
महाधिवेशनलाई लक्षित गर्दै ट्राफिक व्यवस्थापन कडा पारिएको छ। ड्रोनमार्फत सवारीसाधनको निगरानी गरिनेछ भने विभिन्न स्थानमा पार्किङको व्यवस्था मिलाइएको छ। कार्यक्रम स्थल आसपासका केही सडकमा सवारी आवागमनसमेत निषेध गरिएको छ।
बन्दसत्र चितवन उद्योग सङ्घको प्रदर्शनी कक्षमा सञ्चालन हुनेछ। यसअघि विवादमा रहेको हल उपलब्ध भएपछि बन्दसत्रको तयारी सम्पन्न गरिएको पार्टीले जनाएको छ।
महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि विद्युतीय मतदान प्रणाली प्रयोग गरिनेछ। पहिलो चरणमा एक सभापति र ९९ केन्द्रीय सदस्य चयन हुनेछन्। त्यसपछि निर्वाचित केन्द्रीय सदस्यबाट पदाधिकारीहरूको निर्वाचन गरिने निर्वाचन समितिले जनाएको छ। मनोनयन प्रक्रिया असार ८ गतेदेखि सुरु हुने र सोही दिन पहिलो चरणको मतदान सम्पन्न गर्ने तयारी गरिएको छ।