साँफेबगर । अछामको साँफेबगर नगरपालिका–४ मा रहेको हातेमालो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले व्यावसायिक कृषि उत्पादनमार्फत उल्लेखनीय आम्दानी गर्न सफल भएको छ। कृषि तथा पशुपालनलाई प्राथमिकतामा राख्दै आएको सहकारीले यस वर्ष २० रोपनी क्षेत्रफलमा व्यावसायिक मकै खेती गरी उत्साहजनक नतिजा हासिल गरेको हो।
सहकारीद्वारा उत्पादन गरिएको हरियो मकैको स्थानीय बजारमा उच्च माग देखिएको छ। उत्पादन सुरु भएसँगै उपभोक्ताहरू खेतमै पुगेर मकै खरिद गर्न थालेका छन्। सहकारीका अनुसार हालसम्म करिब ४१ हजार रुपैयाँ बराबरको मकै बिक्री भइसकेको छ भने अझै केही उत्पादन बिक्री हुन बाँकी रहेको छ।
सहकारीका अध्यक्ष सुरत भुलले स्थानीयस्तरमा रोजगारी र आम्दानीका अवसर सिर्जना गर्दै कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले व्यावसायिक मकै खेती सुरु गरिएको बताउनुभयो। आधुनिक कृषि प्रविधिको प्रयोगमार्फत किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न विभिन्न कार्यक्रम सञ्चालन भइरहेको उहाँको भनाइ छ।
“कृषिलाई आयआर्जनको मुख्य आधार बनाउने लक्ष्यसहित सहकारीले उत्पादनमूलक गतिविधिहरू विस्तार गरिरहेको छ। मकै खेतीबाट प्राप्त सकारात्मक नतिजाले आगामी वर्षहरूमा खेतीको क्षेत्रफल थप विस्तार गर्न प्रेरित गरेको छ,” अध्यक्ष भुलले भन्नुभयो।
सहकारीका प्रबन्ध निर्देशक महेश्वरी बुडथापाले स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै गुणस्तरीय र ताजा मकै उपभोक्तासम्म सहज तथा सुलभ मूल्यमा पुर्याइएको बताउनुभयो। उहाँले स्वदेशी उत्पादनको प्रयोग बढ्दा किसान र उपभोक्ता दुवै लाभान्वित हुने भएकाले स्थानीय उत्पादनप्रति विश्वास बढाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
मकै खेतीसँगै सहकारीले तरकारी खेती र भैँसीपालन व्यवसायसमेत सञ्चालन गर्दै आएको छ। कृषि तथा पशुपालनका बहुआयामिक गतिविधिमार्फत सहकारीले उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण योगदान पुर्याइरहेको छ।
स्थानीय उत्पादनप्रति उपभोक्ताको बढ्दो आकर्षण र सहकारीको सक्रियताले आसपासका किसानलाई समेत व्यावसायिक कृषि व्यवसायतर्फ प्रेरित गरेको छ। यसले हातेमालो बहुउद्देश्यीय सहकारीलाई अछामकै नमुना सहकारीका रूपमा स्थापित गर्न मद्दत पुगेको छ।