२०८३ असोज २ शुक्रबार

निर्माण सुस्तिँदा इन्धन खपत घट्यो, डिजेल बिक्रीमा ठूलो गिरावट

ई आर्थिक    शुक्रबार, जेष्ठ ८ २०८३
3.1K
Shares
निर्माण सुस्तिँदा इन्धन खपत घट्यो, डिजेल बिक्रीमा ठूलो गिरावट

काठमाडौं ।  देशभर निर्माण गतिविधि कमजोर बन्दै गएपछि पेट्रोलियम पदार्थको खपतमा उल्लेख्य कमी आएको देखिएको छ। विशेषगरी डिजेलको प्रयोग घटेको तथ्यांकले निर्माण तथा औद्योगिक क्षेत्र सुस्ताएको संकेत गरेको छ।

नेपाल आयल निगमको विवरणअनुसार पछिल्लो समय पेट्रोल र डिजेल दुवैको बिक्री घटेको छ। साताको दुई दिन सार्वजनिक बिदा लागू भएको अवधि र त्यसअघिको २१ दिनको तुलना गर्दा पेट्रोलको बिक्री करिब ४३ हजार किलोलिटरबाट घटेर ३८ हजार किलोलिटर आसपास पुगेको छ। डिजेलको खपतमा अझ ठूलो गिरावट देखिएको छ । यसअघि १ लाख ५ हजार किलोलिटरभन्दा बढी बिक्री भएको डिजेल पछिल्लो अवधिमा करिब ७३ हजार किलोलिटरमा सीमित भएको निगमको तथ्यांकले देखाएको छ।

व्यवसायीहरूका अनुसार निर्माण क्षेत्रको काम सुस्तिँदा डिजेलको मागमा प्रत्यक्ष असर परेको हो। निर्माण सामग्री ढुवानी, टिपर सञ्चालन, जेनरेटर तथा बिटुमिन मिश्रणजस्ता कार्यमा ठूलो मात्रामा डिजेल प्रयोग हुने भएकाले निर्माण गतिविधि घट्दा यसको खपत पनि घटेको बताइएको छ।

निर्माण व्यवसायीहरूले इन्धनको मूल्यवृद्धि, आर्थिक गतिविधिमा आएको कमी तथा कामको सिजनमै उत्पन्न अवरोधका कारण धेरै आयोजना प्रभावित भएको बताएका छन्। उनीहरूका अनुसार निर्माण लागत उल्लेख्य रूपमा बढ्दा कतिपय काम रोकिएको अवस्था छ।

निगमको अनुमानअनुसार देशमा आयात हुने डिजेलको ठूलो हिस्सा निर्माण क्षेत्रमा प्रयोग हुने गरेको छ। निर्माण क्षेत्र कमजोर भएसँगै सिमेन्ट र डन्डी उद्योगहरू पनि पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको व्यवसायीहरूको भनाइ छ।

इन्धनको मूल्य वृद्धि पनि खपत घट्नुको अर्को कारण मानिएको छ। पछिल्लो अवधिमा पेट्रोल र डिजेल दुवैको मूल्य उल्लेख्य रूपमा बढेकाले उपभोगमा दबाब परेको विश्लेषण गरिएको छ।

मासिक तथ्यांकले पनि खपत घट्दो क्रममा रहेको देखाउँछ। चैतको तुलनामा वैशाखमा पेट्रोल र डिजेल दुवैको बिक्री कम भएको निगमले जनाएको छ। मट्टीतेल र एलपी ग्यासको खपतमा पनि सामान्य गिरावट देखिएको छ भने हवाई इन्धनको माग भने स्थिर रूपमा बढिरहेको छ।

हाल देशभर दैनिक हजारौं किलोलिटर पेट्रोल र डिजेल खपत हुने गरेको निगमको तथ्यांकमा उल्लेख छ। एलपी ग्यासको मासिक माग पनि उच्च रहेकाले ऊर्जा क्षेत्रमा आर्थिक गतिविधिको प्रभाव प्रत्यक्ष देखिन थालेको विश्लेषकहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij